Banner news

१७ जिल्लामा ‘एक बालबालिका, एक बिरुवा’ अभियान

१७ जिल्लामा ‘एक बालबालिका, एक बिरुवा’ अभियान


काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा देशभरका करिब ८० हजार बालबालिकाले वृक्षरोपणमा सहभागिता जनाएका छन् । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको नेतृत्वमा स्थानीय सरकार, विद्यालय तथा समुदायको सहकार्यमा सञ्चालन गरिएको ‘एक बालबालिका, एक बिरुवा’ अभियानअन्तर्गत बालबालिकाले विभिन्न स्थानमा बिरुवा रोपेका हुन् ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालका अनुसार अभियान १७ जिल्लाका ४६ स्थानीय तहमा सञ्चालन गरिएको थियो । उदयपुर, सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौं, ललितपुर, लमजुङ, जुम्ला, कैलाली, कञ्चनपुर, अछाम, डोटी, दैलेख, जाजरकोट, बाँके र बझाङ जिल्लामा विद्यालय, समुदाय, वडा कार्यालय तथा घरपरिवारस्तरमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको थियो ।

अभियानअन्तर्गत आँप, लिची, अम्बा तथा सुन्तलालगायत स्थानीय भूगोलअनुकूल फलफूलका बिरुवाहरू रोपिएका छन् । संस्थाका अनुसार यसले वातावरण संरक्षणसँगै दीर्घकालीन खाद्य सुरक्षा तथा जीविकोपार्जनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

अभियानमा ५७३ जना अपाङ्गता भएका बालबालिकाको समेत सहभागिता रहेको वर्ल्ड भिजनले जनाएको छ । जलवायु सम्बन्धी गतिविधिमा सबै बालबालिकाको समान सहभागिता सुनिश्चित गर्ने उद्देश्यअनुसार समावेशी सहभागितालाई प्राथमिकता दिइएको संस्थाको भनाइ छ ।

वृक्षरोपण कार्यक्रम स्थानीय आवश्यकता र भूगोलअनुसार तय गरिएको कार्यतालिकाका आधारमा सञ्चालन गरिएको थियो । स्थानीय सरकार, विद्यालय, सामुदायिक वन उपभोक्ता समूह, अभिभावक तथा २७ कार्यान्वयन साझेदार संस्थाको सहकार्यमा अभियान सम्पन्न भएको जनाइएको छ ।

रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र हुर्काइलाई समेत अभियानको हिस्सा बनाइएको वर्ल्ड भिजनले जनाएको छ । परिवार, स्थानीय समुदाय तथा सरोकारवालासँगको समन्वयमा बिरुवाको हेरचाह, जैविक मलको प्रयोग तथा अनुगमनका कार्यक्रम सञ्चालन गरिने संस्थाले उल्लेख गरेको छ ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालका एसोसिएट डाइरेक्टर (प्राविधिक कार्यक्रम) तथा रेजिलियन्स एन्ड लाइभलिहुड्स प्रमुख प्रकाश तिवारीले वातावरणीय क्षयीकरण र जलवायु परिवर्तनले बालबालिकाको जीवनमा पार्ने प्रभावलाई सम्बोधन गर्न संस्था प्रतिबद्ध रहेको बताए । ‘एक बालबालिका, एक बिरुवा’ अभियानले वृक्षरोपणसँगै बालबालिकामा वातावरणीय चेतना र जिम्मेवारीको भावना विकास गर्न सहयोग पुगेको उनको भनाइ छ ।

स्थानीय तहका जनप्रतिनिधिले पनि अभियानलाई हरित समुदाय निर्माणतर्फको महत्वपूर्ण पहलका रूपमा लिएका छन् । एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले फलफूलका बिरुवा वितरणले वातावरण संरक्षणसँगै भविष्यको खाद्य सुरक्षा र पोषणमा योगदान पुग्ने बताए ।

विद्यालयहरूले समेत अभियानलाई वातावरणीय शिक्षासँग जोडेर हेरेका छन् । राष्ट्रिय आधारभूत विद्यालय, बहेडाका प्रधानाध्यापक रामईश्वर मण्डलले विद्यार्थीलाई फलफूलका बिरुवा उपलब्ध गराउनु वातावरणीय शिक्षालाई व्यवहारसँग जोड्ने प्रभावकारी माध्यम भएको बताए ।

कैलालीको टिकापुर नगरपालिका–७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले यस्ता कार्यक्रमले बालबालिकालाई सानै उमेरदेखि वातावरण संरक्षणप्रति जिम्मेवार बन्न प्रेरित गरिरहेको उल्लेख गरे ।

अभियानमा सहभागी बालबालिकाले पनि बिरुवा रोप्ने अनुभवले वातावरणप्रतिको जिम्मेवारीबोध बढाएको बताएका छन् । महोत्तरीकी ८ वर्षीया रोशनी यादवले आफूले पाएको आँप र लिचीको बिरुवाको नियमित हेरचाह गर्ने बताएकी छन् । त्यस्तै, १४ वर्षीय गौतम साहले बिरुवाको संरक्षणमार्फत वातावरण जोगाउने विषयमा थप बुझ्ने अवसर पाएको प्रतिक्रिया दिएका छन् ।

जुम्लाकी बसमती बुढाले वृक्षरोपण कार्यक्रममा बालबालिकाले नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै यस्ता गतिविधिले सिकाइलाई व्यवहारिक अनुभवसँग जोड्ने बताइन् । कैलालीकी विविशा चौधरी, आस्था आरसी, काठमाडौंकी श्रुति भण्डारी तथा कञ्चनपुरकी एलिसाले पनि बिरुवासँगै आफूहरूमा वातावरण संरक्षणप्रतिको लगाव र जिम्मेवारी बढेको अनुभव सुनाएका छन् ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालकी राष्ट्रिय निर्देशक रोजलिन ह्यान्सन गाब्रिएलले अभियानले समुदायस्तरमा समन्वय, साझेदारी र बालबालिकाको नेतृत्वलाई एकैसाथ प्रवर्द्धन गरेको बताइन् । उनले बालबालिकाले हरित भविष्य निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको दृश्य प्रेरणादायी रहेको उल्लेख गरिन् ।

संस्थाका अनुसार ‘एक बालबालिका, एक बिरुवा’ अभियान बालबालिकाको नेतृत्वमा सञ्चालन भएको जलवायु सम्बन्धी अभियानको उदाहरण हो । बालबालिकालाई वातावरण संरक्षणसँग प्रत्यक्ष रूपमा जोड्दै दीर्घकालीन दिगोपना र भावी पुस्ताको उत्तरदायित्व विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको वर्ल्ड भिजनकी कम्युनिकेसन म्यानेजर उमा थापाले जनाएकी छिन् ।

शेयर गर्नुहोस :

0
Shares