सम्पादकीय

लागूऔषधमुक्त बनाउन अभियान कोशेढुङ्गा बनोस्

लागूऔषधमुक्त बनाउन अभियान कोशेढुङ्गा बनोस्


सम्पादकीय
झापा जिल्लामा सुरु गरिएको ‘लागूऔधष विरुद्ध झापा अभियान’ ले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । भयावह रुपमा रहेको लागूऔषध अत्यन्तै संवेदनशील र भयानक बनिरहेको तस्बिरलाई पुनः उजागर गरेको छ । बिर्तामोडबाट सुरु भएको यो अभियान एउटा औपचारिक कार्यक्रम मात्र होइन, बरु भित्रभित्रै खोक्रो बन्दै गइरहेको हाम्रो सामाजिक संरचनालाई जोगाउने एउटा चेतावनीयुक्त र स्वागतयोग्य कदम हो । तथ्यांकले झापामा मात्रै २१ हजारभन्दा बढी लागूऔषध प्रयोगकर्ता रहेको अनुमान देखाउनुले स्थिति कति भयावह र डरलाग्दो छ भन्ने स्पष्ट पार्छ । यदि यो जालोलाई समयमै चुँडाउन सकिएन भने भोलिको सक्षम र सवल जनशक्ति कुलतको अँध्यारो सुरुङमा भासिने निश्चित छ ।

यो अभियानको सार्थकता यस अर्थमा छ कि यसले प्रहरी प्रशासनको बलमा मात्र लागूऔषध नियन्त्रण सम्भव छैन भन्ने कटु सत्यलाई स्विकारेको छ । खुला सिमाना, बढ्दो आधुनिकताको विकृति र बेरोजगारीका कारण युवा पुस्ता यसको दलदलमा फसिरहेका छन् । यस्तो अवस्थामा विद्यालय, खेलकुद क्षेत्र र तल्लो तप्काका समुदायलाई समेटेर चेतना फैलाउने रणनीति तय गरिनु निकै व्यावहारिक पक्ष हो । बालबालिका र युवाहरूलाई सिर्जनशील र उत्पादनमूलक कार्यमा व्यस्त राख्न सके मात्र उनीहरूलाई यस्ता कुलतबाट टाढा राख्न सकिन्छ । तर, विगतका अनुभवहरूले के देखाउँछन् भने चेतनामूलक कार्यक्रमहरू हजारौँको संख्यामा आयोजना भए पनि तिनले अपेक्षित परिणाम दिन सकेका छैनन् । त्यसैले, अब भाषण र पोष्टर सार्वजनिक गर्ने परम्परागत शैलीबाट माथि उठेर यसको औचित्य सिद्ध गर्नुपर्ने बेला आएको छ ।

लागूऔषधको आपूर्ति प्रणालीलाई ध्वस्त पार्न सुरक्षा निकायले कठोर कानुनी कदम चाल्नै पर्छ भने प्रयोगकर्तालाई अपराधी होइन, बिरामीको रूपमा हेर्दै सुधार र पुनःस्थापनाका लागि परिवार र नागरिक समाजले स्नेहपूर्ण वातावरण निर्माण गर्नुपर्छ । यो अभियानलाई सफल बनाउन झापाका सबै स्थानीय तह, गैरसरकारी संस्था, आमा समूह र युवा क्लबहरूले यसलाई साझा संकट का रूपमा ग्रहण गर्नैपर्छ । प्रत्येक घरपरिवार आफ्ना बालबालिकाको बदलिँदो व्यवहार र संगतप्रति सचेत नभएसम्म राज्यको प्रयासले मात्र पूर्णता पाउँदैन । आशा गरौं, यो अभियान प्रचारमुखी मात्र नभई परिणाममुखी बन्नेछ । र झापालाई लागूऔषधमुक्त जिल्ला बनाउने यात्रामा कोशेढुङ्गा साबित हुनेछ ।

शेयर गर्नुहोस :

81
Shares