सम्पादकीय
जेनजी विद्रोहको बलमा बनेको नयाँ सरकारले १०० दिन पुरा गरेको छ । लामो समय नेतृत्व गरेका राजनीतिक नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउदै नागरिकमा चरम निराशा फैलाएर गरिएको विद्रोहले नयाँ सरकारको उदय भयो । विभिन्न कठिनाईका बिच मुलुकले उपलब्धी हासिल गरे पनि नागरिकको तहमा सन्तुष्टि हुन सकेन । त्यहि असन्तुष्टि र निराशाको कारण जेनजी विद्रोह भयो । नेतृत्वहरुको कतिपय कार्यशैली सुधार नहुँदा युवाहरु निराश भए । निराश युवाहरुको आक्रोसले २०८२ भदौ २३ र २४ गते जेनजी विद्रोह भयो । विद्रोहपछि मुलुकमा नेतृत्व परिवर्तन भएको छ । जसको नेतृत्व बालेन शाहले गरिरहेका छन् । विभिन्न क्षेत्रमा अभियान सञ्चालन गरिरहेका युवाहरु संसदमा आएका छन् । सरकारमा नेतृत्व गरिरहेका छन् ।
बालेन सरकारसँग असाध्यै धेरै आशा गरिएको छ । अझै, विश्वासको वातावरण तयार हुन सकेको छैन । नयाँ नेतृत्व, युवा जोश जाँगरले मुलुकलाई नयाँ गति दिन सक्ने नागरिकको स्वभाविक आशा हो । त्यहि नेतृत्वले सरकारको अगुवाई गरेको पनि १०० दिन पुरा भएको छ । सरकार र रास्वपा समर्थकहरुले यो सरकारको १०० दिन अत्यन्तै उपलब्धी मुलक भनिरहेका छन् । विपक्षीहरुले विरोध पनि जनाइरहेका छन् । १०० दिन उपलब्धीहिन भएको निष्कर्ष निकालेका छन् । सरकारको १०० दिनले काम गर्ने हुटहुटी प्रकट गरेको छ । तर, विधि प्रक्रिया र संविधान सम्बत भन्दा पनि मनमौजी निर्णय गर्दै सरकार आफै पछि हट्नु परेको कयौं घटनाहरु छन् । धरपकड र आतंक फैल्याउन सरकार क्रियाशिल छ । जनमत प्राप्त सरकारलाई विधि प्रक्रिया बमोजिम काम गर्न कसैले रोक्न सक्दैन । यहि अवस्थामा सरकारको यो वेग सुरक्षित छ भन्न सकिन्न ।
केही काम गर्ने गरि सरकारले संकेतहरु गरेको छ । तर, आन्दोलनमा अगुवाई गर्ने जेनजीहरु नै सरकारसँग सन्तुष्ट हुन सकिरहेका छैनन् । विगतका सरकारले एक वर्षमा हजारौं हजार लालपुर्जा वितरण गर्दै आएको थियो । यो सरकारले विगतमै तयारी गरिएको २९ थान लालपुर्जा वितरण गरेको छ । यसलाई उपलब्धी मान्न सकिन्न । स्वास्थ्य बीमामा नागरिकले पाउँदै आएको धेरै सुविधाहरु कटौती भयो । दलित समुदायसँग माफी माग्ने काम भयो, नीति तथा कार्यक्रम र बजेटमा दलितहरुलाई सम्बोधन हुन सकेन । दृष्टिबिहीनहरु अहिले पनि सडकमा छन् । निजी सञ्चार माध्यम सिध्याउने सरकारी नीति देखिन्छ । लोकतन्त्रप्रति बफादारी छैन । सुकुम्बासीहरुको विल्लीबाठ छ । विगतको आन्दोलन र उपलब्धीप्रति कुनै सम्मान छैन । छ त, हतारो मात्र छ । मुलुकको परिवर्तनमा नेतृत्व गर्नेहरुमाथि प्रतिशोध छ । स्वास्थ्य र शिक्षामा करको बोझ बढाइएको छ ।
ककल्याणकारी राज्यको कुनै आभास हुन सकेको छैन । संसदप्रति सरकार गैरजिम्मेवार छ । सरकारको १०० दिन कामभन्दा हल्ला ज्यादा छ । जेनजी आन्दोलनको भावना बमोजिम सरकार अघि बढ्न सकेको छैन । निर्माण व्यवसायीमाथि मन्त्रीकै तहबाट धाकधम्की छ । प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको विवादित अभिव्यक्ति नै दिए । यस्तै, विवादैविवादको १०० दिनलाई १०० अंक दिन सक्ने अवस्था छैन । यसैले सरकारले १०० दिनलाई समिक्षा गरेर आगामी दिनमा सच्चिएर अघि बढ्न आवश्यक छ । संवाद र छलफलबाट मुलुकलाई संमृद्धिको यात्रामा अघि बढाउन सरकारले सबैपक्षसँग हातेमालो गर्नैपर्छ ।







प्रतिक्रिया