सम्पादकीय

प्रस्थानविन्दुमै लापसे जाँच गरौं

प्रस्थानविन्दुमै लापसे जाँच गरौं


सम्पादकीय

झापामा पछिल्लो वर्ष चालकहरु लापसे र मापसेमा पक्राउ परिरहेका छन् । सवारी चलाउने जिम्मेवारी पाएका चालक नै मादक पदार्थ र लागूपदार्थ सेवन गरेर पक्राउ पर्नुले यात्रुमाथिको चरम लापरबाही भइरहेको स्पष्ट हुन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले विभिन्न स्थानमा लापसे र मापसे जाँचलाई प्राथमिकता दिदैं आएको छ । व्यस्त व्यापारिक केन्द्र बिर्तामोडमा हालै सडक दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गराउने उद्देश्यका साथ सञ्चालन गरिएको विशेष चेकजाँच अभियानले हाम्रो यातायात क्षेत्रको एउटा भयावह र डरलाग्दो अवस्था सतहमा ल्याएको छ । चालकहरुले पछिल्लो समय गरिरहेको लापरबाहीले सार्वजनिक यातायातमाथि गम्भीर प्रश्न उठिरहेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अगुवाइमा विभिन्न निकायको समन्वयमा भएको उक्त चेकिङका क्रममा २०९ वटा सवारी साधनको परीक्षण गर्दा १ जनाले मादक पदार्थ (मापसे) र ५ जना चालक तथा सह–चालकले लागुपदार्थ (लापसे) सेवन गरेको पाइयो । सार्वजनिक यातायातजस्तो संवेदनशील क्षेत्रमा चालकहरू यसरी नशामा लागेर स्टेरिङ समात्नु यात्रुहरूको जिउज्यानमाथिको गम्भीर खेलबाड र अक्षम्य अपराध हो । दैनिक सयौँ सर्वसाधारण बोकेर सडकमा गुड्ने सार्वजनिक चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीका चालक नै लागुऔषधको नशामा लठ्ठिनुले सडक असुरक्षाको मुख्य कारकलाई उदाङ्गो पारेको छ । मापसे चेकिङ त सामान्य बन्दै गएको थियो, तर पछिल्लो समय लापसे किटमार्फत गरिएको जाँचले चालकहरूमा लागुपदार्थ सेवनको बढ्दो र चिन्ताजनक प्रवृत्ति देखाएको छ । यो सडक अनुशासनको उल्लंघन मात्र होइन, सामूहिक नरसंहार निम्त्याउन सक्ने आपराधिक मानसिकता कार्य हो ।

बढ्दो सवारी दुर्घटना कम गर्न र सडकलाई सुरक्षित बनाउन एउटा विशेष दिनमा गरिने अभियान मात्र पर्याप्त हुँदैन । यस्ता आकस्मिक र सघन चेकिङहरूलाई निरन्तरता दिनु आवश्यक छ । नशा सेवन गरेर सवारी चलाउने चालकहरूलाई कडा कानुनी कारबाही, अनुमतिपत्र (लाइसेन्स) खारेजी र यातायात व्यवसायी समितिहरूले पनि त्यस्ता जनशक्तिलाई तत्काल कामबाट निकाल्ने जस्ता कडा कदम चाल्नुपर्छ । बिर्तामोडमा चालिएको यो कदम प्रशंसनीय छ र यसले चालकहरूमा कानुनी डर पैदा गर्नेछ । सडक सुरक्षा ट्राफिक प्रहरीको मात्र जिम्मेवारी होइन । यसमा यातायात व्यवस्था कार्यालय, नगरपालिका र स्वयं यातायात व्यवसायीहरूको पनि उत्तिकै दायित्व रहन्छ । आगामी दिनमा निर्दोष नागरिकले सडकमा अकालमै ज्यान गुमाउन नपरोस् भन्नका लागि यस्ता अभियानहरू झापाभरि र नियमित रूपमा सञ्चालन गरिनु आजको आवश्यकता हो । तर, यात्रा सुरु भइसके पछि होइन । लापसे र मापसे यात्राको प्रारम्भमै चेकजाँच गरिनुपर्छ ।

शेयर गर्नुहोस :

0
Shares