सम्पादकीय

सरकार गैरजिम्मेवार नबनोस्

सरकार गैरजिम्मेवार नबनोस्


सम्पादकीय
जेनजी आन्दोलनको जगमा बनेको बालेन शाह नेतृत्वको सरकार एकपछि अर्को गर्दै विवादमा आइरहेको छ । सुरुवातबाटै प्रतिशोधपूर्ण व्यवहारमा उत्रिएको बालेन सरकार विशेष गरी गरिव विपन्न नागरिकप्रति जिम्मेवार बन्न सकिरहेको छैन । सरकारले सुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने भन्दाभन्दै उनीहरुमाथि सामान्य मानवीय व्यवहार समेत हुन सकिरहेको छैन । व्यवस्थापन गर्ने भन्दै उठाइएका सुकुम्बासीहरु थप पीडामा परेका छन् । उनीहरुलाई राखिएको होल्डिङ सेन्टरमा पानीले डुबाएको छ । बाढीले डुवान हुन्छ, सुकुम्बासीहरु डुवानमा पर्छन् भन्दाभन्दै पनि सरकारले वेवास्था गर्दा उनीहरुको विल्लीबाठ भएको छ । सरकारले उनीहरुलाई बसोबासको व्यवस्थापन मिलाउने आश्वासन देखाएर बसिरहेको ठाउँबाट हटाएको थियो ।

सुकुम्बासीहरुलाई खानपानमा समस्या भइरहेको छ । उनीहरुका बालबालिकाहरु पठनपाठनबाट बञ्चित भइरहेका छन् । विकल्प खोजेर मात्र सुकुम्बासीहरुलाई हटाउनु पर्छ भन्दा भन्दै पनि सरकारले जवरजस्ती उठाएर बहादुरी प्रस्तुत गरेको थियो । खोला किनारमा जोखिमपूर्ण तरिकाले बस्न दिन हुदैन । उनीहरुलाई व्यवस्थापन गर्न अनिवार्य थियो । तर, बस्तीबाट उठाइसकेपछि व्यवस्थापनमा चरम लापरबाही भएको छ । धनीमनीहरुको सरकार भन्ने आरोप लागिरहेको बेला गरिव, सुकुम्बासीमाथि भइरहेको ज्यादती खेदजनक छ । बालबालिका, वृद्धवृद्धाहरुको विल्लीवाठ छ । तर, सरकारले उनीहरुको संवेदनशिलता बुझ्न सकेन । उनीहरुलाई तत्काल बसोबासको व्यवस्था मिलाइनुपर्छ ।

यसैबीचमा काठमाडौंमा गरिखाने युवा गणेश नेपालीले आत्मदाह गरे । उनको आत्मदाहको घटनालाई लिएर देशभर आन्दोलन चर्किएको छ । पार्किङ शुल्कलाई लिएर भएको विवादका कारण नेपालीले आत्मदाह गरेका थिए । सामान्य विवादमा पनि एउटा गरिखाने वर्गले आफूलाई आत्मदाहको बाटोमा लैजान्छ भने राज्यप्रति कुनै आशावादी नभएको स्पष्ट हुन्छ । गरिखाने वर्गका लागि अनुकुल हुने नियम कानुन सरकारले बनाउनु पर्छ । सरकारका मन्त्रीहरु सम्पन्न छन्, धनाड्य छन् भन्दैमा गरिव प्रतिकुल नियम बनाउन हुदैन । गणेश जस्ता लाखौं युवाहरु आफ्नो बलबुँताले भ्याएसम्म देशमै हातमुख जोर्न प्रयास गरिरहेका छन् । उनीहरुको सम्मान र वर्गीय उत्थानका लागि धनाड्य सरकारले प्रयास गर्नुपर्छ । सरकार सुकुम्बासी होस् या गरिखाने वर्गका लागि जिम्मेवार रुपमा प्रस्तुत हुनैपर्छ । अझै, गैरजिम्मेवार रुपमा प्रस्तुत भइरहने हो भने जनताले फेरि विकल्प खोज्ने छन् । त्यस तर्फ बालेन सरकार सजग हुनुपर्छ । र, सरकारको मनमौजीविरुद्ध सचेत नागरिकहरुले खवरदारी गर्नैपर्छ ।

शेयर गर्नुहोस :

81
Shares