सम्पादकीय

घरबहाल कर घटाउने निर्णय सकारात्मक

घरबहाल कर घटाउने निर्णय सकारात्मक


सम्पादकीय
झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा नगरपालिकाले घरबहाल कर १० प्रतिशत लिदैं आएको थियो । आगामी आर्थिक वर्ष १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । नगरसभाको उक्त निर्णयलाई सकारात्मक मान्न सकिन्छ । अहिलेको आर्थिक शिथिलताका बीच नगरपालिकाको निर्णय स्वागतयोग्य र व्यावहारिक छ । दोस्रो नगरसभाको नवौँ अधिवेशनको दोस्रो बैठकमा नगरप्रमुख पवित्रा महतारा प्रसाईंद्वारा सार्वजनिक गरिएको सहुलियतले नयाँ आर्थिक वर्षदेखि स्थानीय व्यवसायी र घरधनी दुवैलाई ठुलो राहत पु¥याउने निश्चित छ । वार्षिक साढे ४ करोड रुपैयाँ बहाल कर उठाउँदै आएको नगरपालिकाले करको दर आधा घटाएर व्यवसायी र नागरिकको आर्थिक भार कम गर्ने प्रयास गर्नु सकारात्मक पक्ष हो ।

बिर्तामोड नगरपालिकाले घरबहाल कर अनिवार्य गर्न सहुलियत नीति अपनाएको हो । विगतमा बहाल कर छलि भएरहेको थियो । एउटा सम्झौता गर्ने र अर्को भाडादरमा कर बुझाउने चलाखीपनलाई बुझेर नगरपालिकाले ५ प्रतिशत घटाएको हो । अब, सबै भाडामा लगाइएका घरमा बहाल कर अनिवार्य गर्ने हो भने यहाँको विकास निर्माणमा थप टेवा पुग्ने छ । त्यसका लागि प्रभावकारी अनुगमन पनि हुन आवश्यक छ । साँचो किसिमले बुझाइरहेका घरधनीले भाडा दरकै आधारमा बहाल कर बुझाउने छन् । तर, छलि गर्नेहरुले फेरि पनि दर लुकाउन सक्छन् । त्यसैले अनुगमन अनिवार्य छ । यो निर्णय सहुलियत प्रदान गर्ने विषयसँग मात्र जोडिएको छैन । बिर्तामोडमा वास्तविक भाडादर र कर तिर्नका लागि गरिने कागजी सम्झौताका बीच ठुलो खाडल रहँदै आएको छ । एउटा दरमा सम्झौता गर्ने र कर बुझाउने बेला कृत्रिम रूपमा दर घटाएर राजस्व छल्ने प्रवृत्तिले स्थानीय सरकारको राजश्व संकलन मै नोक्सान पुगिरहेको छ ।

फर्जी भाडा दरकै कारण नगरपालिकाले लामो समयदेखि लक्षित राजस्व संकलन गर्न सकिरहेको थिएन । त्यसैले, करको दर घटाएर ५ प्रतिशत कायम गरिनुको मुख्य उद्देश्य नागरिकलाई आकर्षित गरी ‘करको दायरा’ फराकिलो बनाउनु हो । दर घट्दा इमानदार करदातालाई प्रत्यक्ष फाइदा पुग्छ । तर कर छल्नका लागि दोहोरो सम्झौता गर्नेहरूलाई पनि अब वास्तविक भाडा घोषणा गरेर कानुनी दायरामा आउन सहज हुनेछ । अबको चुनौती भनेको यो सहुलियतपछि पनि कर छलीको प्रवृत्ति रोकिन्छ कि रोकिँदैन भन्ने हो । नगरपालिकाले दर घटाएर मात्र पुग्दैन । नियमित अनुगमन गर्ने, डिजिटल माध्यमबाट कर प्रणालीलाई पारदर्शी बनाउने र कर बुझाउन झन्झटिलो प्रक्रियालाई हटाउने तर्फ पनि उत्तिकै ध्यान दिनुपर्छ । जब करको दर न्यायसंगत र प्रक्रिया सरल हुन्छ । तब मात्र नागरिकमा स्वतःस्फूर्त रूपमा कर तिर्ने बानीको विकास हुन्छ । बिर्तामोड नगरपालिकाले राजस्व चुहावट रोक्न र करदाताको मनोबल बढाउन यो निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ ।

शेयर गर्नुहोस :

0
Shares