सम्पादकीय
झापाको दमकमा श्रीमानले श्रीमतिलाई खुकुरी प्रहार गरे । खुकुरी प्रहारबाट घाइते श्रीमतिको मृत्यू भयो । खुकुरी प्रहारपछि श्रीमानले पनि आत्मदाहको प्रयास गरे । घरमा बुबाले आत्मदाह गर्दै गरेको देखेपछि छोरीले बचाउने प्रयास गरिन् । उनले तत्कालै प्रहरीलाई खवर गरिन् । खुकुरी प्रहारबाट गम्भीर घाइते आमा र आत्मदाह प्रयास गर्ने बुबालाई उपचारका लागि अस्पताल लगियो । अस्पतालमा उपचारका क्रममा दुवै जनाको मृत्यू भयो । श्रीमान–श्रीमतिबीचको सामान्य विवादले मृत्युसम्म पुराइरहेको धेरैं घटनाहरु सार्वजनिक भइरहेको छ । यो एउटा प्रतिनिधिमुलक घटना हो । दमकमा भएको दुःखद घटनाले सिंगो समाजलाई स्तब्ध र चिन्तित बनाएको छ ।
श्रीमान् श्रीमतीबीचको सामान्य विवादले उग्र रूप लिँदा खुकुरी प्रहार र आत्महत्याको बाटो रोजिएपछि एकै दम्पतीको ज्यान गयो । क्षणिक रिस र आवेगका कारण सिर्जित यो घटना एउटा परिवारको दुर्घटना मात्र होइन, हाम्रो समाजमा तीव्र रूपमा बढिरहेको असहिष्णुता, निराशा र मानसिक अशान्तिको भयावह रुप हो । आमाबुबाको असामयिक निधनपछि सन्तानले भोग्नुपर्ने आजीवन मानसिक आघात र अन्योलको क्षतिपूर्ति कुनै पनि कुराले पूरा गर्न सक्दैन । पारिवारिक जीवनमा ससाना भनाभन, मतभेद र तनाव हुनु स्वाभाविक मानिन्छ । तर, जब त्यो विवादले विवेकलाई मारेर हिंसाको रूप लिन्छ, त्यसको परिणाम सधैं विनाशकारी नै हुन्छ । रिस र आवेग केही सेकेन्ड वा मिनेटको हुन्छ, तर त्यसले निम्त्याउने विनाशले सिंगो पुस्तालाई तहसनहस बनाउँछ ।
समाजमा यस्ता घटना दोहोरिन नदिनका लागि पारिवारिक तथा सामाजिक तहमा संवाद र संयमको संस्कृति पुनस्थापित गर्नु अनिवार्य भइसकेको छ । विवाद उत्पन्न हुँदा तत्काल प्रतिक्रिया दिनुको सट्टा केही समय मौन बस्ने, विवादस्थल छाड्ने वा स्थिति शान्त भएपछि मात्र छलफल गर्ने बानी बसाल्नुपर्छ । यसका साथै, घरायसी झगडालाई घरको निजी मामिला भनेर छरछिमेक र समुदायले बेवास्ता गर्ने परिपाटी बदल्न आवश्यक छ । टोल–टोलमा हुने सानातिना विवादलाई समयमै सामाजिक मध्यस्थता वा परामर्शमार्फत सुल्झाउने वातावरण बनाउनुपर्छ । मानसिक तनाव र संवेग नियन्त्रण गर्न नसक्नु पनि मानसिक स्वास्थ्यसँग जोडिएको विषय हो । यस प्रकारका घटनालाई एउटा परिवारभित्रको घटनाका रुपमा मात्र पनि लिन हुदैन । यो समाजकै समस्या हो । त्यसैले स्थानीय तहमा तनाव व्यवस्थापन र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । हिंसाले कहिल्यै कुनै समस्याको समाधान दिँदैन, यसले विनाश मात्र ल्याउँछ । त्यसैले, क्षणिक आवेगलाई विवेकले जितौं, संवादलाई प्राथमिकता दिऔं र अमूल्य जीवनसँगै परिवार जोगाऔं ।







प्रतिक्रिया