सम्पादकीय
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि माहोल अशान्त छ । त्यहाँको घटनापछि पूर्वका विभिन्न भागमा प्रदर्शनहरु भइरहेका छन् । माहोललाई शान्त बनाउनका लागि स्थानीयस्तरमा भइरहेका प्रयासहरु पर्याप्त र प्रभावकारी हुन सकिरहेको छैन । दुई समुदायबीचको इगोका कारण तनावको वातावरण शान्त हुन सकेको छैन । जातीय र धार्मिक द्वन्द्व भनेको यसै हुने होइन । र, सजिलै समाधान हुने पनि होइन । सुनसरी घटनामा एक हिन्दु समुदायका युवाको गोली लागेर ज्यान गयो । हिन्दु समुदाय मुस्लिम समुदायप्रति आक्रोसित भएको अवस्था छ । यस प्रकारका घटना विभिन्न समयमा भइरहन्छ । समाधान पनि भइरहेको थियो । सुनसरी घटना अलि लम्बिनुले सबैमा त्रास बढेको छ ।
धर्म, समुदायका नाममा हुने हिंसालाई समाधान गर्न सेना प्रहरी तैनाथ गरेर मात्र पुग्दैन । स्थानीयस्तरमा राजनीतिक संवाद, सद्भावपूर्ण छलफलको पहलकदमी हुनुपर्छ । वर्तमान सरकार यस तर्फ संवेदनशिल बन्न सकेको छैन । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङ यो घटनाप्रति संवेदनशिल रुपमा प्रस्तुत हुन सकेका छैनन् । सीमामा कुकुर घिसारेर हिड्ने गृहमन् त्री गुरुङ यस्तो जटिल समयमा समस्या समाधानका लागि मैदानमा हुनुपर्ने थियो । प्रधानमन्त्री बोल्दै नबोल्ने, फेसबुकबाट समाधान खोज्ने, गृहमन्त्रीको भूमिका विश्वासिलो हुन नसक्ने परिस्थितिले वातावरण निर्माणका लागि समस्या भइरहेको छ । प्रधानमन्त्री जिम्मेवार नभएपछि रास्वपा सभापति रवि लामिछाने आफैले सर्वदलीय बैठक आव्हान गरे । सबै दललाई एकै ठाउँमा राखें । सद्भावका लागि सार्वजनिक अपील गरे । तर, प्रधानमन्त्री न सहभागी भए, नत बोले ।
सुनसरी घटनालाई सामान्य रुपमा लिन हुदैन । यो हिंसा फैलियो भने यसबाट फाइदा उठाउन सक्नेहरुले आगो जस्तै फैलाउन मद्दत गर्ने छन् । त्यसैले सरकार जिम्मेवार नभए पनि राजनीतिक दल, नागरिक समाज, धार्मिक क्षेत्रका अगुवाहरु जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्छ । वर्तमान सरकारका नेतृत्वत्वकर्ताहरु समाज मिलाएर आएका पात्र पनि होइनन् । जेनजीको विद्रोहमा टेकेर नेतृत्वमा आउनेहरुबाट ठुलो भूमिका पनि खोज्नु राम्रो होइन । त्यै पनि जिम्मेवारीमा बसेपछि दायित्वबाट भाग्न मिल्दैन । यत्तिका दिनसम्म सरकारको गैरजिम्मेवारीले गर्दा समस्या समाधान हुन सकेन । बल्ला, राजनीतिक संवाद सुरु भएको छ । यो संवादलाई तल्लो तहसम्म पुराऔं । सद्भाव भड्किन नदिन सबैले सकारात्मक भूमिका निर्वाह गरौं । अब, राजनीतिक, सामाजिक र धार्मिक कोणबाट समस्या समाधानका निमित्त पहल गरौं ।







प्रतिक्रिया