सम्पादकीय
झापाको बिर्तामोडमा सञ्चालित एन.के. नेपाल ट्रेड एण्ड सप्लायर्स प्रा.लि. (एनके प्यूरिफायर) ले पानी फिल्टर मेसिन किस्ताबन्दीमा बिक्री गर्ने बहानामा महिनौदेखि अघोषित रूपमा चिठ्ठा सञ्चालन गर्दै आएको छ । बिर्तामोडमा आफ्नै ग्राहकले चिठ्ठामा हुने धाँदलीको पर्दाफास गरिदिए । बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित अन्तिम उपहार वितरण कार्यक्रमका क्रममा कम्पनीले आफ्नै नियम र शर्तको उल्लंघन गरेर ग्राहकमाथि धाँदली गरिदियो । त्यसलाई ग्राहकहरु आफैले ठगी धन्दाका रुपमा बाहिर ल्याए । पानी फिल्टर गर्ने मेसिनको व्यापारका नाममा लोभ देखाएर चिठ्ठा खेलाउन ९ हजार ९९९ जना सर्वसाधारण नागरिकबाट ३७ करोड ९३ लाखभन्दा बढी रकम असुली गरिएको तथ्य सार्वजनिक भइसकेको छ । यस प्रकारका गतिविधिहरू सरासर गैरकानुनी र अस्वीकार्य छन् । स्थानीय प्रशासनले मसिनो ढंगबाट अनुसन्धान गर्नुपर्छ ।
कानूनी रूपमा चिठ्ठा खेलाउने कार्य पूर्णतया अवैधानिक हुँदाहुँदै पनि खुलेआम रूपमा ठूलो धनराशी संकलन गरी सर्वसाधारणलाई लोभ्याउने यस्ता प्रपञ्चहरू लामो समयदेखि चल्नुले सम्बन्धित नियामक निकाय र स्थानीय प्रशासनको भूमिकामाथि पनि गम्भीर प्रश्नचिह्न खडा गरेको छ । एजेन्टमार्फत गाउँगाउँका सोझासाझा जनतालाई किनारामा पार्दै मासिक रूपमा किस्ता असुल्ने र लक्की ड्र को प्रलोभन देखाएर जनताको श्रम र पसिनाको कमाइमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन । झापा, मोरङ र इलामका हजारौं नागरिकहरू यस संस्थाको पासोमा परेका छन् । उनीहरुलाई आर्थिक रुपमा न्याय दिनुपर्छ । कानुनी वैधता बारे प्रशासनले स्पष्ट बनाउनुपर्छ ।
बिर्तामोडको घटनापछि प्रहरीले टोकनयुक्त गाग्रीहरूलाई नियन्त्रणमा राखेको छ । उक्त चिठ्ठा योजनामा ठूलो आर्थिक अपराधको चलखेल हुन सक्छ । प्रशासनले अनुसन्धानमा पक्कै चनाखो हुने विश्वास आम नागरिकलाई छ । यो घटनालाई कम्पनी र ग्राहकबीचको सामान्य विवाद वा सम्झौता उल्लंघनका रुपमा मात्र हेरिएको छैन । सिंगो समाजले यसलाई स्पष्ट रूपमा अवैध चिठ्ठा र ठगीको संगठित अपराधको रुपमा हेरिरहेको छ । यदि, त्यस्तो होइन भने कम्पनीले यथार्थ प्रमाणहरु सार्वजनिक गरेर नागरिकलाई बुझाउनुपर्छ । तसर्थ, स्थानीय प्रशासनले यस विषयलाई गम्भीरताका साथ छानबिन अगाडि बढाउनुपर्छ । पीडित ग्राहकहरूले न्याय पाउनुपर्छ र अवैध रूपमा ग्राहकको करोडौं रकम उठाउने सञ्चालकहरूलाई कानुनी कठघरामा उभ्याउनुपर्छ ।








प्रतिक्रिया