सम्पादकीय
झापाको बिर्तामोड क्षेत्रमा विद्युत अनियमत छ । अनियमित हुनुको पछाडि कयौं कारणहरु होलान् । विद्युत् जस्तो अतिआवश्यक सेवामा देखिएको अनियमितताले उपभोक्तालाई हैरान पारेको छ । यो हरेक घरको समस्या हो । मौसम र कमजोर विद्युतीय संरचनाका कारण यस प्रकारका समस्याहरु आइरहेको पनि हुन सक्छ । त्यसलाई समाधान गर्ने दायित्व प्राधिकरणको हो । भोल्टेजको चरम उतारचढावले अहिले बिर्तामोडका नागरिक र व्यवसायीहरूलाई गम्भीर रूपमा आक्रान्त पारेको छ । यो समस्यालाई लिए नेकपा एमाले बिर्तामोडले नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण गराउनु अत्यन्तै समयसापेक्ष र वाञ्छनीय छ ।
बिर्तामोड क्षेत्रमा बिना कुनै पूर्वसूचना दिनमा दर्जनौं पटक बत्ती आउने र जाने समस्याले जनजीवन अस्तव्यस्त बनेको छ । भोल्टेजमा हुने अत्यधिक उतारचढावले फ्रिज, टेलिभिजन, कम्प्युटर र मोटरजस्ता महँगा विद्युतीय उपकरणहरू जल्ने, विग्रिने क्रम बढेको छ । यसले सर्वसाधारण नागरिकलाई आर्थिक भार थपिरहेको छ । त्यस्तै, बिहानबेलुकीको समयमा हुने अघोषित लोडसेडिङले विद्यार्थीहरूको पठनपाठनमा बाधा पुगेको छ भने दैनिक व्यापार व्यवसायमा पनि गम्भीर असर परेको छ । जेनरेटरको भरमा व्यवसाय चलाउँदा व्यवसायीहरूको इन्धन खर्च अत्यधिक बढेको वास्तविकता पनि यसैमा जोडिएको छ ।
नियमित रूपमा विद्युत् महसुल तिर्ने उपभोक्ताहरूले गुणस्तरीय र भरपर्दो सेवा पाउनु अधिकार हो । तर, प्राधिकरणको गैरजिम्मेवारपन र फोनसमेत नउठ्ने प्रवृत्तिले जनतामा आक्रोश बढाएको छ । एमालेले उठाएका यी मुद्दाहरू सिंगो बिर्तामोडवासीको साझा पीडा हुन् । केन्द्र प्रमुखले पुराना संरचनागत समस्याका कारण विद्युत् अनियमित भएको स्वीकार गर्दै उपभोक्तालाई क्षति नहुने तर्फ प्रयास गर्ने प्रतिबद्धता जनाए । यसलाई सकारात्मक मान्न सकिन्छ । अब मौखिक आश्वासनभन्दा पनि उपभोक्ताले महसुस गर्ने परिवर्तन जरुरी भएको छ । तसर्थ, विद्युत् प्राधिकरणले तत्काल प्राविधिक कमजोरी सुधार गरी बिर्तामोडमा नियमित, भरपर्दो र सुरक्षित विद्युत् आपूर्तिको सुनिश्चितता गर्नुपर्छ ।








प्रतिक्रिया