सम्पादकीय
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नेपालको उत्कृष्ट सहकारी संस्थाका रूपमा स्थापित छ । सदस्य संख्या र वित्तीय कारोबारका हिसाबले समेत यसलाई देशकै अग्रणी सहकारी संस्थाका रूपमा लिइन्छ । यही संस्थाको आइतबार नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । विभिन्न समूहमा विभाजित भएर उम्मेदवारहरूले निर्वाचनमा प्रतिस्पर्धा गरे । सेयर सदस्य मतदाताले आफूले रुचाएका र विश्वास गरेका उम्मेदवारलाई मतदान गरेर संस्थाको नेतृत्व सुम्पिएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुनु आफैंमा सकारात्मक अभ्यास हो । निर्वाचन सकिएसँगै अब समूहगत प्रतिस्पर्धाको अन्त्य हुनुपर्छ ।
संस्थाको हितमा सबैलाई एकताबद्ध बनाएर अघि बढ्नु नयाँ नेतृत्वको पहिलो जिम्मेवारी हो । सहारामा नयाँ नेतृत्व आइरहँदा उसले निर्वाह गर्नुपर्ने भूमिका विगतको भन्दा अझ महत्त्वपूर्ण बनेको छ । पछिल्लोसमय सहकारी क्षेत्रमा देखिएका सङ्कट, समस्या र चुनौतीले समग्र सहकारी अभियानप्रति नै प्रश्न उठिरहेका बेला सहाराजस्तो ठूलो संस्थाले आफ्नो कार्यशैली, सुशासन र वित्तीय अनुशासनलाई थप बलियो बनाउनुपर्ने आवश्यकता छ । सरकारले सहकारी संस्थामाथिको नियमनलाई थप कडा बनाउँदै लगेको छ । यस्तो अवस्थामा सहकारीका आधारभूत सिद्धान्त, मूल्य र मान्यतालाई व्यवहारमै स्थापित गर्दै पारदर्शिता, सुशासन र जवाफदेहितालाई प्राथमिकतामा राख्नु नयाँ सञ्चालक समितिको दायित्व हो । अझ महत्वपूर्ण कुरा, बचतकर्ताको रकमको सुरक्षा संस्थाका सञ्चालकको मूल जिम्मेवारीभित्र पर्छ । सहाराले अहिलेसम्म प्राप्त गरेको उचाइ, गौरव र गरिमा कायम राख्नु पनि नयाँ नेतृत्वका लागि चुनौतीको विषय हुनसक्छ । निर्वाचनका क्रममा विभिन्न समूह बनाएर उम्मेदवार प्रतिस्पर्धामा उत्रिँदा आपसी मनमुटाव वा अविश्वासको अवस्था सिर्जना भएको हुनसक्छ ।
निर्वाचनको परिणामसँगै त्यस्ता असहमतिलाई अन्त्य गर्दै सबै पक्षलाई समेटेर संस्थालाई एकढिक्का बनाउनु आवश्यक छ । निर्वाचनका क्रममा सार्वजनिक भएका असन्तुष्टि र गुनासालाई पनि नयाँ सञ्चालक समितिले बेवास्ता गर्नु हुँदैन । सदस्यका जायज प्रश्न र चासोलाई सम्बोधन गर्दै उनीहरूको हितलाई केन्द्रमा राखेर संस्थाको नीति तथा कार्यक्रम अघि बढाउनुपर्छ । सहकारी संस्था केही व्यक्तिको मात्र होइन, हजारौँ सदस्यको साझा संस्था हो भन्ने मान्यतालाई व्यवहारमा स्थापित गर्ने मामिलामा पनि सहारा अगाडि छ । व्यावसायिक र सहकारी क्षेत्रमा देखिएका पछिल्ला चुनौतीलाई विवेकपूर्ण ढंगले व्यवस्थापन गर्दै अघि बढ्न सके मात्र सहाराको गौरव र गरिमालाई थप उचाइ दिन सकिन्छ । त्यसका लागि नयाँ सञ्चालक समितिले संस्थालाई अझ गतिशील, मजबुत, पारदर्शी र प्रभावकारी बनाउने दिशामा काम गर्नुपर्छ ।
अब सहाराको नयाँ नेतृत्वका लागि निर्वाचन जित्नु मात्र उपलब्धि होइन, सदस्यले दिएको विश्वासलाई व्यवहारमा प्रमाणित गर्नु मुख्य चुनौती हो । त्यो विश्वास जोगाउन सक्नु नै नयाँ सञ्चालक समितिको वास्तविक सफलता हुनेछ ।








प्रतिक्रिया