सम्पादकीय

अनुगमनलाई जिल्लाव्यापी बनाऊ

अनुगमनलाई जिल्लाव्यापी बनाऊ


सम्पादकीय
झापामा मेचीनगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । बजारमा खाद्य क्षेत्र मात्र नभई स्वास्थ्यसहित विभिन्न विषयगत अनुगमनलाई समेत प्राथमिकता दिइएको छ । बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन अपरिहार्य छ । जिल्ला प्रशासन कार्यालय झापाले स्थानीय तहहरुसँग समन्वय गरेर अनुगमनलाई तिब्रता दिएको छ । यो अभियानलाई जिल्लाव्यापी बनाउन अपरिहार्य छ । हालै मेचीनगर नगरपालिकाले चारआलीमा अवैध रूपमा सञ्चालन गरिएको मनकामना अस्पताललाई शिलबन्दी गरेको छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा देखिएको चरम लापर्बाही र गैरकानूनी धन्दा अत्यन्तै आपत्तिजनक छ ।

दर्ता नगरी, नवीकरणबिना र बिरामीको जीवनसँग खेलबाड गर्दै म्याद नाघेका औषधिहरूको प्रयोग गरी सञ्चालन गरिएको उक्त अस्पतालमाथि स्थानीय सरकारले समयमै एक्सन लिएकोमा नगरपालिकाको अनुगमन टोली धन्यवादको पात्र बनेको छ । यसअघि नै पटकपटक सचेत गराउँदा पनि अटेर गरेर अस्पतालले नियम कानूनको धज्जी उडाएको प्रस्ट थियो । जनताको स्वास्थ्यमा खेलबाड गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याएर कडाभन्दा कडा कारबाही गर्नुपर्छ । यसरी विभिन्न वडामा गरिएको बजार अनुगमनले उपभोक्तलाई राहत मिलेको छ । विगतका वर्षहरूको तुलनामा यसपटक ग्यास बिक्रेता, डेरी उद्योग, मार्ट र किराना पसलहरूमा सुधार देखिएको अनुगमन टोलीको निष्कर्ष छ ।

मनकामना अस्पतालबाहेक अन्य क्षेत्रमा समेत अनुगमन तथा निरीक्षण गरिएको छ । निरीक्षण गरिएका चारवटा पसलहरूमा ठूलो कैफियत नभेटिनुले व्यवसायीहरूमा क्रमशः सचेतता बढ्दै गएको स्पष्ट छ । चाडपर्व वा विशेष समयमा मात्र होइन, बाह्रै महिना यसरी निरन्तर रूपमा बजार अनुगमन भइरहनु आवश्यक छ । स्वास्थ्य संस्थादेखि दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरूसम्म गरिएको यो निरीक्षणले उपभोक्ताहरूको अधिकार संरक्षण गर्न र कालोबजारी तथा अनियमितता नियन्त्रण गर्न स्थानीय सरकारको सक्रियता कति जरुरी छ भन्ने फेरि एकपटक पुष्टि गरेको छ । कानुन सबैका लागि समान हुनुपर्छ र स्वास्थ्यजस्तो गम्भीर विषयमा गरिएको खेलबाडलाई कदापि छुट दिनु हुँदैन । आगामी दिनमा पनि यस्ता अनुगमनलाई थप कडाइका साथ निरन्तरता दिँदै उपभोक्ताको जीउधन र स्वास्थ्य सुरक्षामा स्थानीय प्रशासन र नगरपालिका गम्भीर बन्नुपर्छ ।

शेयर गर्नुहोस :

0
Shares