सम्पादकीय
बिर्तामोडमा नेपाली कपडा ब्रान्ड चिनोले आयोजना गरेको चारदिने सेलले स्थानीय व्यवसायीबिच बहस सिर्जना गरेको छ । दसैँको मुखमा सस्तो मूल्यमा ठूलो परिमाणको कपडा बिक्री गर्दा स्थानीय व्यवसाय प्रभावित हुने भन्दै उद्योग वाणिज्य संघले दबाब दिनु गम्भीर विषय हो ।
स्थानीय व्यवसायीको हित संरक्षण गर्नु उद्योग वाणिज्य संघको जिम्मेवारी हो । तर, संरक्षणको नाममा अर्को व्यवसायीको व्यापारिक गतिविधिमाथि दबाब सिर्जना गर्नु उचित हुँदैन । चिनोले आफ्नै उत्पादन आफ्नै आउटलेटमार्फत बिक्री गर्छ भने उत्पादकदेखि उपभोक्तासम्म पुग्ने क्रममा केही तह घट्दा मूल्य सस्तो हुनु स्वाभाविक हो । २९९ देखि १,४९९ रुपैयाँसम्मका कपडा उपभोक्ताले रोजेर किन्न पाउनु बजार प्रतिस्पर्धाकै एउटा रूप हो ।
चार दिनको एउटा सेलले बिर्तामोड, दमक, भद्रपुर, धुलाबारी, काँकरभिट्टालगायत झापाका स्थापित कपडा बजारलाई नै धराशायी बनाउँछ भन्ने निष्कर्ष पनि वस्तुगत देखिँदैन । चिनोले कति कारोबार गर्छ र त्यसको स्थानीय बजारमा कस्तो प्रभाव पर्छ भन्ने कुरा अनुमानले होइन, तथ्यले देखाउनेछ । व्यवसायीको लगानी र हित महत्वपूर्ण छन्, तर उपभोक्ताको छनोटको अधिकार पनि उत्तिकै महत्वपूर्ण छ । बजारमा प्रतिस्पर्धा रोक्ने होइन, निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउने जिम्मेवारी सम्बन्धित संस्थाको हो ।
स्थानीय व्यवसायीलाई बलियो बनाउने उपाय अर्को व्यवसायीलाई रोक्नु होइन, गुणस्तर, मूल्य र सेवामा अझ प्रतिस्पर्धी बन्नु हो । नेपाली उत्पादनलाई नेपाली बजारमै प्रतिस्पर्धा गर्न नदिने प्रवृत्तिले अन्ततः व्यवसायीभन्दा उपभोक्तालाई बढी नोक्सान पुर्याउँछ । बजार दबाबले होइन, प्रतिस्पर्धाले चल्नुपर्छ ।








प्रतिक्रिया