झापाली आदिवासी जनजाति नेत्रहीन संघले दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूको उच्च शिक्षामा सहयोग पु¥याउने उद्देश्यले यही असोज २४ र २५ गते बृहत् जनचेतनामूलक सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ । संस्थाको गतिविधि, छात्रवृत्ति अक्षयकोष तथा आसन्न कार्यक्रमको तयारीका विषयमा संघका अध्यक्ष भोजकुमार तामाङसँग पत्रकार चेतन लामिछानेले गर्नुभएको कुराकानीको सम्पादित अंश :
आदिवासी जनजाति नेत्रहीन सङ्घ झापाले असोज २४ र २५ गते बृहत् जनचेतनामूलक सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ, यसको मुख्य उद्देश्य के हो ?
यस कार्यक्रमको मुख्य उद्देश्य संस्था व्यवस्थापनका साथै सङ्घद्वारा सञ्चालित ‘झापाली आदिवासी जनजाति नेत्रहीन सहारा छात्रवृत्ति अक्षयकोष’ को वृद्धि गर्नु हो ।

यो अक्षयकोष कस्तो कोष हो र हाल यसमा कति रकम छ ?
यो कोष विशेषगरी आदिवासी जनजाति समुदायका उच्च शिक्षा अध्ययनरत दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूलाई सहयोग गर्न स्थापना गरिएको हो । हाल यस कोषमा ३ लाख ६१ हजार ६०४ रुपैयाँ रहेको छ। हामी नयाँ दाताहरूलाई पनि कोषमा जोड्ने प्रयास गरिरहेका छौँ ।
कोषमार्फत कस्ता विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिन्छ ?
विशेषगरी झापा जिल्लामा अध्ययनरत आदिवासी जनजाति समुदायका दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूलाई सहयोग गरिन्छ । जिल्लामा लक्षित वर्गका विद्यार्थी नभएको अवस्थामा छिमेकी जिल्लाका विद्यार्थीलाई पनि समेट्ने गरेका छौँ । गरिब र विपन्न मात्र नभई क्षमतावान् र लगनशील विद्यार्थीहरू, जसलाई हाम्रो सानो सहयोगले जीवनमा ठूलो टेवा पुगोस्, उनीहरूलाई नियमअनुसार छनोट गरेर छात्रवृत्ति दिइन्छ ।
यसपटक कार्यक्रममार्फत कति रकम संकलन गर्ने लक्ष्य छ ?
हाम्रो लक्ष्य त अक्षयकोषलाई करिब ७ लाख पु¥याउने र समग्रमा १० लाखसम्मको योजना थियो । तर पश्चिमतर्फको बाढीपहिरो र पछिल्ला राजनीतिक गतिविधिका कारण केही असर परेको छ । तैपनि कार्यक्रमबाट केही न केही आकारमा कोष वृद्धि गर्ने हाम्रो योजना छ ।
कार्यक्रममार्फत के–कस्ता महत्वपूर्ण सम्झौता तथा उपलब्धिहरू हुँदैछन ?
हामीले धेरै महत्त्वपूर्ण समझदारीहरू गर्दैछौँ : दमकस्थित आरोग्य डेन्टल क्लिनिकमार्फत उपचारमा ५० प्रतिशत छुट र वर्षमा दुईवटा दन्त स्वास्थ्य शिविर सञ्चालन । दमकको कन्काई पार्टी प्यालेसमा संस्थाका कार्यक्रम आयोजना गर्दा वर्षमा एउटा कार्यक्रमका लागि हल भाडामा ५० प्रतिशत छुट ।
वरिष्ठ राष्ट्रिय गायक शम्भु राईमार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षमा एउटा गीत निःशुल्क रेकर्डिङ ।
झिल्झिलेमा आयोजना हुने झापा महिला गोल्डकपको प्रत्येक टिकटबाट ५ देखि १० रुपैयाँ सङ्घलाई उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ । अक्टोपस तालिम केन्द्रका सञ्चालक योगेश उप्रेतीबाट २ लाख रुपैयाँ बराबरको अक्षयकोष घोषणा उहाँले कार्यक्रमको सह–प्रायोजकको रूपमा ५० हजार रुपैयाँ उपलब्ध गराउनुभएको छ । मेजर जयबहादुर राई थुलुङको स्मृतिमा उहाँकी धर्मपत्नी बिमला थुलुङबाट ५० हजार रुपैयाँको अक्षयकोष । कम्तीमा ५० जना आजीवन अक्षयकोष दाता (रु. १,००० का दरले) जुटाउने प्रयास जारी छ । साथै शिवसताक्षी नगरपालिकामा भवन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि अघि बढाइएको छ ।
यसलाई जनचेतनामूलक सांस्कृतिक कार्यक्रम भनिएको छ, कस्तो चेतना फैलाउन खोजिएको हो ?
अपाङ्गता भएका व्यक्तिहरूलाई समाज र परिवारले बोझका रूपमा हेर्ने, पूर्वजन्मको पाप वा कमाइ भन्ने गलत सोच अझै पनि व्याप्त छ । तर अपाङ्गता दुर्घटना वा गर्भावस्थामा पोषणको कमी आदि जुनसुकै कारणले पनि हुन सक्छ । त्यसैले समाजमा रहेको यो अन्धविश्वास चिर्न हामीले ‘हेला गरे फेला परिन्छ’ शीर्षकको १५–२० मिनेटको जनचेतनामूलक नाटक, अपाङ्गता सम्बन्धी सामूहिक गीत र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति समावेश गरेका छौँ ।
वरिष्ठ गायक शम्भु राईलाई यस कार्यक्रमसँग जोड्नुको पृष्ठभूमि के हो ?
उहाँको साथ र सहयोग निकै सकारात्मक छ । अर्को ऐतिहासिक पक्ष, उहाँले पहिले धरानस्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय (जहाँ दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्छन) मा संगीत शिक्षकका रूपमा काम गर्नुभएको थियो । त्यसैले हाम्रो समुदायसँग उहाँको भावनात्मक सम्बन्ध छ । उहाँले विशेष छुटमा कार्यक्रममा प्रस्तुति दिन स्वीकार गर्नुभएको हो ।
कार्यक्रममा अरू कस–कसलाई सम्मान गरिँदैछ ?
झिल्झिलेमा राष्ट्रिय कलाकार कुबेर राई, प्राज्ञिक व्यक्तित्व कोमलप्रसाद पोखरेल, ओमनाथ दाहाल, किरात भाषा–संस्कृतिका अध्येता हरि चोम्बाङ लगायत ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिँदैछ । त्यस्तै दमकमा नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राई, नेपालकी दोस्रो महिला तबला वादक यशोदा शाक्य, संगीत संयोजनकर्ता अशोक थापा लगायतलाई सम्मान गर्ने कार्यक्रम छ ।
कार्यक्रम कहिले र कहाँ हुँदैछ, सर्वसाधारण कसरी सहभागी हुन सक्छन ?
असोज २४ गते शिवसताक्षी नगरपालिका–८, झिल्झिलेस्थित ‘वाटर किङडम पार्क’ मा बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ । त्यस्तै, असोज २५ गते दमक–९ स्थित ‘कन्काई पार्टी प्यालेस’ मा बिहान १० बजेदेखि कार्यक्रम सुरु हुनेछ । सहभागिताका लागि टिकट दर रु. ३००, ५०० र १,००० तोकिएको छ भने विद्यार्थी वर्गका लागि रु. १०० को सहुलियत टिकट व्यवस्था गरिएको छ। यसबाहेक सामाजिक सङ्घसंस्था, उद्यमी तथा व्यवसायीहरूले प्रायोजक वा स्वेच्छिक सहयोगमार्फत पनि साथ दिन सक्नुहुनेछ ।
अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
अपाङ्गताको क्षेत्रमा पनि विकृति नआओस् भन्नका लागि हामीलाई सहयोग मात्र नगर्नुहोस्, त्यो सहयोगको सही सदुपयोग भएको छ कि छैन भनेर निगरानी पनि गर्नुहोस् भन्न चाहन्छौँ । हाम्रा बालबालिका तथा विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन सबैको साथ र उपस्थितिको अपेक्षा गर्दछौँ ।








प्रतिक्रिया