वर्तमान युग विज्ञान र प्रविधिको युग हो। दिनप्रतिदिन प्रविधिको विकास हुँदै जाँदा मानव जीवनका विभिन्न क्षेत्रमा यसको प्रभाव देखिन थालेको छ। विशेषगरी शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence–AI) को प्रयोग तीव्र रूपमा बढिरहेको छ। पछिल्लो समय ChatGPT, Google Gemini लगायतका AI उपकरणहरू विद्यार्थी, शिक्षक तथा शैक्षिक संस्थाहरूका लागि उपयोगी प्रविधिका रूपमा स्थापित हुँदै गएका छन्। यसले परम्परागत अध्ययन तथा अध्यापन पद्धतिमा नयाँ परिवर्तन ल्याउनुका साथै विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई समेत प्रभाव पारिरहेको छ।
आजका विद्यार्थीहरू पुस्तक, शिक्षक र पुस्तकालयमा मात्र निर्भर नभई इन्टरनेट तथा AI प्रविधिको सहायताबाट पनि ज्ञान हासिल गर्न थालेका छन्। कुनै विषयवस्तु बुझ्न कठिन भएमा, गृहकार्य गर्न समस्या परेमा वा कुनै नयाँ विषयमा जानकारी आवश्यक परेमा विद्यार्थीहरूले केही सेकेन्डमै AI मार्फत उत्तर तथा व्याख्या प्राप्त गर्न सक्छन्। यसले विद्यार्थीहरूलाई नयाँ ज्ञान प्राप्त गर्न, जिज्ञासा समाधान गर्न र आफ्नो अध्ययनलाई थप प्रभावकारी बनाउन सहयोग पु¥याएको छ।

१. अध्ययनमा AI प्रयोगका प्रमुख फाइदाहरू
शिक्षा क्षेत्रमा AI को प्रयोगले विद्यार्थीहरूका लागि धेरै अवसरहरू सिर्जना गरेको छ। यसको सही र सन्तुलित प्रयोग गर्न सकेमा विद्यार्थीहरूको शैक्षिक उपलब्धि र सिकाइ क्षमतामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।
क. कठिन विषयवस्तु बुझ्न सहज
कतिपय विद्यार्थीहरूलाई गणित, विज्ञान, अंग्रेजी तथा अन्य विषयका जटिल पाठहरू बुझ्न कठिनाइ हुने गर्छ। AI ले त्यस्ता विषयवस्तुलाई सरल भाषा, उदाहरण र चरणबद्ध व्याख्यामार्फत बुझाउन सहयोग गर्छ । विद्यार्थीले आफूलाई नबुझेको प्रश्न पटक–पटक सोधेर पनि समाधान प्राप्त गर्न सक्छन्।
ख. समयको बचत र छिटो जानकारी प्राप्ति
पहिले कुनै विषयको जानकारी प्राप्त गर्न विभिन्न पुस्तक, पत्रपत्रिका वा अन्य स्रोतहरू खोज्नुपर्ने अवस्था थियो। तर अहिले AI को माध्यमबाट छोटो समयमा आवश्यक जानकारी प्राप्त गर्न सकिन्छ । यसले विद्यार्थीहरूको समय बचत गर्नुका साथै अध्ययनलाई व्यवस्थित बनाउन मद्दत गर्छ।
ग. सिर्जनात्मकता र नयाँ सीपको विकास
AI को सहयोगबाट विद्यार्थीहरूले निबन्ध लेखन, कथा सिर्जना, कविता लेखन, चित्र निर्माण, प्रस्तुतीकरण तथा अनुसन्धानसम्बन्धी सीप विकास गर्न सक्छन् । यसले उनीहरूलाई नयाँ विचारहरू खोज्न र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रेरित गर्छ।
घ. व्यक्तिगत सिकाइको अवसर
सबै विद्यार्थीको सिक्ने क्षमता र गति समान हुँदैन। कुनै विद्यार्थीले एउटा विषय छिटो बुझ्न सक्छ भने अर्को विद्यार्थीलाई त्यही विषय बुझ्न बढी समय लाग्न सक्छ । AI ले विद्यार्थीको आवश्यकताअनुसार फरक–फरक तरिकाले व्याख्या गर्न सक्ने भएकाले व्यक्तिगत सिकाइमा सहयोग पु¥याउँछ।
ङ. भाषा तथा सञ्चार सीपको विकास
अंग्रेजी तथा अन्य विदेशी भाषा सिक्न चाहने विद्यार्थीहरूका लागि AI उपयोगी माध्यम बनेको छ । यसले शब्दको अर्थ, व्याकरण, वाक्य संरचना, अनुवाद तथा लेखन शैली सुधार गर्न सहयोग गर्छ। विद्यार्थीहरूले आफ्नो भाषिक क्षमता विकास गर्न यसको प्रयोग गर्न सक्छन्।
२. अध्ययनमा AI प्रयोगका प्रमुख बेफाइदाहरू
AI प्रविधिले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याए पनि यसको अत्यधिक र अव्यवस्थित प्रयोगले विद्यार्थीहरूको अध्ययनमा नकारात्मक प्रभाव पार्न सक्छ। प्रविधिको गलत प्रयोगले विद्यार्थीहरूको आफ्नै क्षमताको विकासमा बाधा पु¥याउन सक्छ।
क. आफ्नै सोच्ने क्षमतामा कमी
विद्यार्थीहरूले प्रत्येक प्रश्नको उत्तर AI बाटै खोज्ने बानी बसालेमा उनीहरूको आफ्नै सोच्ने, विश्लेषण गर्ने र समस्या समाधान गर्ने क्षमता कमजोर हुन सक्छ। कुनै पनि समस्याको समाधान आफैँ खोज्ने प्रयास नगर्दा उनीहरू प्रविधिमा अत्यधिक निर्भर बन्न सक्छन्।
ख. सिर्जनशीलतामा ह्रास
गृहकार्य, निबन्ध, परियोजना तथा अन्य शैक्षिक गतिविधिहरू AI बाट तयार गराउने बानीले विद्यार्थीहरूको मौलिक विचार र सिर्जनशीलता कमजोर बनाउन सक्छ। यसले विद्यार्थीहरूलाई आफैँ लेख्ने, पढ्ने र नयाँ विचार प्रस्तुत गर्ने अभ्यासबाट टाढा लैजान सक्छ।
ग. गलत तथा भ्रामक जानकारीको जोखिम
AI ले उपलब्ध गराउने सबै जानकारी शतप्रतिशत सही हुन्छन् भन्ने छैन। कहिलेकाहीँ यसले गलत तथ्य, अपूर्ण जानकारी वा भ्रामक उत्तरसमेत दिन सक्छ। विद्यार्थीहरूले प्राप्त जानकारीको सत्यता जाँच नगरी प्रयोग गरेमा उनीहरूको ज्ञान र परीक्षाको नतिजामा नकारात्मक असर पर्न सक्छ।
घ. अध्ययनप्रतिको रुचिमा कमी
AI बाट सजिलै उत्तर प्राप्त हुने भएपछि केही विद्यार्थीहरू पुस्तक पढ्ने, नोट तयार गर्ने र शिक्षकसँग प्रश्न गर्ने बानीबाट टाढिन सक्छन्। यसले नियमित अध्ययन गर्ने बानी तथा अनुशासनमा समेत असर पार्न सक्छ।
ङ. प्रविधिप्रतिको अत्यधिक निर्भरता
हरेक कामका लागि AI प्रयोग गर्ने बानीले विद्यार्थीहरूलाई प्रविधिमा निर्भर बनाउन सक्छ। इन्टरनेट वा डिजिटल उपकरण उपलब्ध नभएको अवस्थामा उनीहरू सामान्य शैक्षिक कार्य गर्नसमेत असहज महसुस गर्न सक्छन्।
च. गोपनीयता र सुरक्षासम्बन्धी समस्या
AI प्रयोग गर्दा विद्यार्थीहरूले आफ्नो व्यक्तिगत विवरण, विद्यालयसम्बन्धी जानकारी वा अन्य संवेदनशील सामग्री अनावश्यक रूपमा साझा गर्नु हुँदैन। डिजिटल सुरक्षाबारे पर्याप्त ज्ञान नहुँदा व्यक्तिगत सूचनाको दुरुपयोग हुने सम्भावना रहन्छ।
३. AI को सही प्रयोगमा शिक्षक तथा अभिभावकको भूमिका
AI प्रविधिको प्रभावकारी प्रयोगका लागि विद्यार्थी मात्र होइन, शिक्षक तथा अभिभावकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। शिक्षकहरूले विद्यार्थीहरूलाई AI को प्रयोग गरेर उत्तर नक्कल गर्नुभन्दा विषयवस्तु बुझ्न, अनुसन्धान गर्न र नयाँ ज्ञान हासिल गर्न प्रेरित गर्नुपर्छ।
विद्यालयहरूले AI सम्बन्धी आधारभूत ज्ञान, डिजिटल साक्षरता, इन्टरनेट सुरक्षा तथा प्रविधिको नैतिक प्रयोगबारे विद्यार्थीहरूलाई जानकारी दिन आवश्यक छ। विद्यार्थीले AI बाट तयार गरेको सामग्रीलाई जस्ताको तस्तै बुझाउनुभन्दा त्यसलाई अध्ययन गरी आफ्नै शब्दमा प्रस्तुत गर्ने अभ्यास गर्नुपर्छ।
त्यस्तै, अभिभावकहरूले आफ्ना बालबालिकाको डिजिटल गतिविधिमा उचित निगरानी राख्दै प्रविधिको सन्तुलित प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ। विद्यार्थीहरूलाई मोबाइल र कम्प्युटरको प्रयोगसँगै पुस्तक अध्ययन, खेलकुद, सिर्जनात्मक गतिविधि तथा सामाजिक व्यवहारमा समेत सक्रिय बनाउन आवश्यक छ।
४. भविष्यको शिक्षामा AI को सम्भावना
आगामी दिनहरूमा शिक्षा क्षेत्रमा AI को भूमिका अझ व्यापक हुने अनुमान गर्न सकिन्छ। विद्यार्थीहरूको सिकाइ क्षमता पहिचान गर्ने, व्यक्तिगत अध्ययन योजना तयार गर्ने, शैक्षिक सामग्री विकास गर्ने तथा विभिन्न भाषामा ज्ञान उपलब्ध गराउने कार्यमा AI अझ प्रभावकारी बन्न सक्छ।
नेपाल जस्तो विकासोन्मुख देशमा पनि AI प्रविधिको उचित प्रयोगले ग्रामीण तथा सहरी क्षेत्र बीचको शैक्षिक पहुँचको अन्तर कम गर्न सहयोग पु¥याउन सक्छ । इन्टरनेट तथा डिजिटल उपकरणको पहुँच विस्तार गर्न सकेमा दुर्गम क्षेत्रका विद्यार्थीहरूले समेत विश्वस्तरको शैक्षिक जानकारी प्राप्त गर्ने अवसर पाउन सक्छन्।
तर यसका लागि प्रविधिको पहुँचसँगै गुणस्तरीय इन्टरनेट, डिजिटल साक्षरता, प्रशिक्षित शिक्षक तथा प्रभावकारी शैक्षिक नीतिको आवश्यकता पर्दछ।
निष्कर्ष
समग्रमा, कृत्रिम बुद्धिमत्ता आधुनिक शिक्षा प्रणालीको एउटा महत्त्वपूर्ण उपलब्धि हो। यसले विद्यार्थीहरूलाई ज्ञान प्राप्त गर्ने नयाँ अवसर प्रदान गर्नुका साथै अध्ययन तथा अनुसन्धान प्रक्रियालाई सहज, छिटो र प्रभावकारी बनाएको छ। तर यसको अत्यधिक र गलत प्रयोगले विद्यार्थीहरूको मौलिक सोच, सिर्जनशीलता, आत्मनिर्भरता तथा अध्ययन गर्ने बानीमा नकारात्मक असर पार्न सक्छ।
त्यसैले AI लाई शिक्षक, पुस्तक तथा विद्यार्थीको आफ्नै मेहनतको विकल्पका रूपमा नभई सिकाइ प्रक्रियालाई सहयोग गर्ने एउटा उपयोगी साधनका रूपमा लिनुपर्छ। विद्यार्थीहरूले AI बाट उत्तर मात्र खोज्ने होइन, त्यसको माध्यमबाट नयाँ कुरा सिक्ने, प्रश्न गर्ने, विश्लेषण गर्ने र आफ्नो ज्ञान अभिवृद्धि गर्ने बानी विकास गर्नुपर्छ।
अन्ततः प्रविधि जति नै विकसित भए पनि मानिसको ज्ञान, विवेक, नैतिकता र सिर्जनशीलताको महत्त्व कहिल्यै कम हुँदैन। AI को सही प्रयोग गर्न जान्ने विद्यार्थी नै भविष्यको प्रतिस्पर्धात्मक संसारमा सफल बन्न सक्छन्।
AI विद्यार्थीको विकल्प होइन, विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने माध्यम हो । प्रविधिको प्रयोग गरौँ, तर आफ्नो सोच्ने र सिक्ने क्षमतालाई कहिल्यै प्रविधिको जिम्मा नलगाऔँ।
अर्जुनधारा – ५ झापा







प्रतिक्रिया