Banner news

बिर्तामोड कांग्रेसको राजनीतिक निर्णय, संगठनात्मक एकता र खानेपानीको निर्वाचन

बिर्तामोड कांग्रेसको राजनीतिक निर्णय, संगठनात्मक एकता र खानेपानीको निर्वाचन

संजिव चापागाई


नेपाली कांग्रेसको आन्तरिक निर्वाचन पश्चात् नयाँ नेतृत्व स्थापित भएको छ । बिर्तामोड नगरपालिकामा पनि नयाँ नेतृत्वले आफ्नो राजनीतिक तथा संगठनात्मक यात्रा प्रारम्भ गरेको छ । स्वाभाविक रूपमा नयाँ नेतृत्वप्रति पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक र आम नागरिकको अपेक्षा पनि बढेको छ ।

तर राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसभित्र देखिएको वैचारिक तथा सांगठनिक असमझदारी अझै पूर्ण रूपमा समाधान भइसकेको अवस्था छैन । यस्तो संवेदनशील राजनीतिक परिवेशमा आगामी निर्वाचन र राजनीतिक प्रतिस्पर्धालाई मध्यनजर गर्दै पार्टीभित्र एकता, विश्वास र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।
यसै सन्दर्भमा बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलसँग गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको विषयले पार्टीका कतिपय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूमा स्वाभाविक रूपमा असन्तुष्टि र प्रश्नहरू जन्माएको छ ।

मेरो मुख्य चासो गठबन्धन गर्नु वा नगर्नु भन्ने विषय मात्र होइन । मूल प्रश्न के हो भने, आफ्नै पार्टीभित्रको एकता र संगठनात्मक अवस्था कति सुदृढ छ ? आफ्नै संगठनलाई एकताबद्ध बनाएर निर्वाचनमा प्रस्तुत हुन सक्ने अवस्था निर्माण नगरी अन्य राजनीतिक शक्तिसँग सहकार्य गर्नुपर्ने आवश्यकता किन आयो ? यसबारे नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने देखिन्छ ।

आफ्नो घर सुदृढ नगरी छिमेकीसँग हातेमालो गर्न खोज्नु राजनीतिक रणनीति हुन सक्छ, तर आफ्नै संगठनको शक्ति र एकतालाई बेवास्ता गरेर गरिने सहकार्यले दीर्घकालीन राजनीतिक आधारलाई कमजोर बनाउन सक्छ ।
गठबन्धन आफैँमा गलत राजनीतिक अभ्यास होइन । राजनीतिक परिस्थितिअनुसार सहकार्य र गठबन्धन आवश्यक पनि हुन सक्छ । तर त्यस्तो निर्णय स्पष्ट राजनीतिक उद्देश्य, संगठनात्मक सहमति, पारदर्शी छलफल र कार्यकर्ताको भावनालाई सम्मान गर्दै गरिनुपर्छ । अन्यथा, गठबन्धनले तत्कालीन निर्वाचनको व्यवस्थापन त गर्ला, तर पार्टीभित्रको विश्वास र संगठनात्मक एकतामा प्रश्न खडा गर्न सक्छ ।

राष्ट्रिय स्तरमा नेपाली कांग्रेसभित्र विभिन्न धार र असमझदारीको चर्चा भइरहेका बेला बिर्तामोडले भने फरक राजनीतिक सन्देश दिन सक्ने अवसर पाएको थियो । देशव्यापी रूपमा कांग्रेसभित्र एकताको प्रश्न उठिरहेको समयमा बिर्तामोडबाट हामी एकताबद्ध छौँ, हाम्रो संगठन मजबुत छ र हामी आफ्नै राजनीतिक पहिचानसहित अगाडि बढ्न सक्षम छौँ भन्ने उदाहरण प्रस्तुत गर्न सक्नुपथ्र्यो भन्ने मेरो धारणा हो ।

तर खानेपानी संस्थाको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयले बिर्तामोड कांग्रेसको संगठनात्मक अवस्था र स्थानीय नेतृत्वको निर्णय प्रक्रियाबारे थप बहस सिर्जना गरेको छ । यसले कांग्रेसका शुभचिन्तकहरूमा नेतृत्वले पार्टीको संस्थागत हितभन्दा सीमित समूहगत वा व्यक्तिगत सम्बन्धलाई बढी प्राथमिकता दिएको हो कि भन्ने आशङ्का पैदा गरेको छ । यस्ता आशंकालाई बेवास्ता गर्नुको सट्टा नेतृत्वले खुला रूपमा सम्बोधन गर्न आवश्यक छ ।

अर्को महत्वपूर्ण पक्ष भनेको खानेपानीजस्तो सार्वजनिक सरोकारको संस्थाको स्वतन्त्रता र संस्थागत मर्यादा हो । खानेपानी संस्था कुनै एउटा राजनीतिक दलको मात्र सम्पत्ति होइन । यो आम उपभोक्ताको साझा संस्था हो । यसको नेतृत्व चयनमा राजनीतिक दलहरूको सहभागिता हुन सक्छ, तर संस्थाको उद्देश्य, विधान, उपभोक्ताको हित र संस्थागत स्वायत्तता कुनै पनि दलगत स्वार्थभन्दा माथि रहनुपर्छ ।

कुनै पनि सामाजिक वा सार्वजनिक संस्थालाई पार्टीको संगठन विस्तार गर्ने माध्यम बनाउने, संस्थाको नेतृत्व चयनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दलगत प्रभाव स्थापित गर्ने अथवा संस्थाको स्वतन्त्र निर्णय प्रक्रियालाई राजनीतिक नियन्त्रणमा राख्ने प्रवृत्तिले भविष्यमा संस्थाको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाउन सक्छ ।

राजनीतिक दलले संस्थालाई सहयोग र मार्गदर्शन गर्न सक्छ, तर संस्थाको स्वतन्त्र अस्तित्व र संस्थागत मर्यादामाथि हस्तक्षेप गर्ने अवस्था सिर्जना हुनु हुँदैन । आज देखिएका घटनाक्रमका सन्दर्भमा यस विषयमा पनि गम्भीर समीक्षा आवश्यक छ ।

मेरो विचारमा बिर्तामोडको राजनीतिक नेतृत्वले अहिलेको परिस्थितिलाई एउटा खानेपानी संस्थाको निर्वाचनका रूपमा मात्र हेर्नु हुँदैन । यो स्थानीय राजनीतिक संस्कार, दलहरूबीचको सम्बन्ध, संगठनात्मक अनुशासन र सार्वजनिक संस्थाप्रतिको दृष्टिकोणसँग जोडिएको विषय हो ।

राजनीति भनेको निर्वाचन जित्ने रणनीति मात्र होइन, यो आफ्नो विचार, सिद्धान्त, संगठन र जनविश्वासको संरक्षण गर्ने जिम्मेवारी पनि हो । नेतृत्वले निर्णय गर्दा तत्कालीन राजनीतिक लाभभन्दा दीर्घकालीन संगठनात्मक प्रभावलाई प्राथमिकता दिनुपर्छ ।

अन्त्यमा, बिर्तामोडको समग्र विकास, खानेपानी व्यवस्थापन, सहरी पूर्वाधार र नागरिकको जीवनस्तर सुधार कुनै एउटा दलको मात्र जिम्मेवारी होइन । यहाँ क्रियाशील सबै राजनीतिक दलका नेतृत्वले दलीय प्रतिस्पर्धालाई आफ्नो ठाउँमा राख्दै साझा विकासका मुद्दामा सहकार्य गर्नुपर्छ ।

तर सहकार्यको आधार स्पष्ट हुनुपर्छ । पार्टीभित्रको एकता पार्टीले निर्माण गर्नुपर्छ, सार्वजनिक संस्थाको स्वायत्तता संस्थाले जोगाउनुपर्छ र बिर्तामोडको विकासका लागि सबै राजनीतिक दलले साझा जिम्मेवारी निर्वाह गर्नुपर्छ ।
आजको मेरो असन्तुष्टि कुनै व्यक्ति वा दलप्रतिको व्यक्तिगत पूर्वाग्रह होइन । यो निर्णय प्रक्रिया, संगठनात्मक प्राथमिकता र राजनीतिक दूरदर्शिताबारे उठेको एउटा गम्भीर वैचारिक प्रश्न हो ।

बिर्तामोड कांग्रेसले राष्ट्रिय राजनीतिमा देखिएको आन्तरिक असमझदारीको प्रभाव स्थानीय संगठनमा पर्न दिनुभन्दा आफ्नै एकता र संगठनात्मक सामथ्र्य प्रदर्शन गर्ने दिशामा सोच्नुपर्छ ।

आफ्नो संगठन बलियो बनाऔँ, कार्यकर्ताको भावनाको सम्मान गरौँ, सार्वजनिक संस्थाको स्वायत्तता कायम राखौँ र बिर्तामोडको विकास तथा समृद्धिका लागि सबै राजनीतिक शक्तिबीच स्वस्थ सहकार्यको वातावरण निर्माण गरौँ ।
यही अपेक्षा, यही चिन्ता र यही नै मेरो राजनीतिक धारणा हो ।

शेयर गर्नुहोस :

1.6k
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu