सम्पादकीय

आगलागी हुनै नदिने तयारी गरौं

आगलागी हुनै नदिने तयारी गरौं


सम्पादकीय
बिर्तामोडको व्यस्त बजार क्षेत्रमा बुधबार भएको आगलागीले एउटा गम्भीर प्रश्न उठाएको छ । बिर्तामोडले विपद्को जोखिमअनुसार आफूलाई तयार पारेको छ त ? बडादशैंको व्यापारका लागि तयारी अवस्थामा रहेका दुई फर्निचर उद्योगमा भएको आगलागीले करोडौंको क्षति भएको प्रारम्भिक अनुमान छ । व्यवसायीका लागि यो भौतिक सम्पत्तिको क्षति मात्र होइन, वर्षौंको मेहनत, लगानी र आगामी व्यापारिक योजनामाथिको ठूलो धक्का हो । सौभाग्यवश, मानवीय क्षति भएन । सामान जोगाउने क्रममा एक व्यक्ति घाइते भए पनि उनको अवस्था खतरामुक्त छ ।

यो घटनाले बिर्तामोडजस्ता घना शहरी क्षेत्रमा आगलागी नियन्त्रणको चुनौती कति गम्भीर छ भन्ने देखाएको छ । साँघुरा सडक, अव्यवस्थित पार्किङ र भित्री गल्लीसम्म दमकल पुग्न नसक्ने अवस्थाले जोखिम झन् बढाउँछ । आगलागीस्थलमा रमिता हेर्न र फोटो–भिडियो खिच्न जम्मा हुने भीडले पनि उद्धार तथा नियन्त्रण कार्यमा अवरोध पु¥याउँछ । यसबाट स्थानीय तह र सुरक्षा निकायले पनि पाठ सिक्नैपर्छ । दमकल हरसमय तयारी अवस्थामा राख्ने, पर्याप्त पानीको व्यवस्था गर्ने, साँघुरा सडक र जोखिमयुक्त क्षेत्र पहिचान गर्ने र नियमित अग्नि सुरक्षा अभ्यास सञ्चालन गर्ने काम अब प्राथमिकतामा पर्नुपर्छ ।

बजार क्षेत्रमा पार्किङ व्यवस्थापन पनि उत्तिकै आवश्यक छ । अर्कोतर्फ, व्यवसायीले विद्युतीय उपकरण, तार तथा चार्जिङ प्रणालीको नियमित परीक्षण गर्नुपर्छ । विद्युत् सर्टबाट आगलागी हुने जोखिमलाई सामान्यरूपमा लिनु हुँदैन । चाडबाडको मुखमा व्यवसायीले भोगेको यो क्षति दुःखद छ । तर, घटनाले मानवीय क्षति नपु¥याएको पक्षलाई राहतका रूपमा लिनुपर्छ । आगलागी भएपछि नियन्त्रण गर्नेभन्दा आगलागी हुनै नदिने तयारी नै प्रभावकारी विपद् व्यवस्थापन हो ।

शेयर गर्नुहोस :

0
Shares