सम्पादकीय

बिर्तामोडको सुरक्षामाथि प्रश्न

बिर्तामोडको सुरक्षामाथि प्रश्न


बिर्तामोड झापाको मात्र होइन, पूर्वी नेपालकै प्रमुख व्यापारिक केन्द्र हो । दिनहुँ हजारौँ मानिसको आवतजावत हुने यो शहरको सुरक्षा व्यवस्था बलियो हुनु स्वाभाविक अपेक्षा मानिन्छ । तर, पछिल्ला घटनाक्रमले बिर्तामोडको सुरक्षा निगरानी प्रणाली ज्यादै कमजोर देखाएको छ । बजार क्षेत्रमा सीसी क्यामेरा नहुँदा दुर्घटना गराएर भाग्ने सवारी साधन पहिचान गर्नसमेत प्रहरीलाई कठिन भइरहेको छ । यो अवस्था नागरिक सुरक्षाका दृष्टिले गम्भीर चिन्ताको विषय हो ।

केही समयअघिसम्म बिर्तामोड बजार क्षेत्रका १२० वटा सीसी क्यामेराले प्रहरीलाई अपराध अनुसन्धानदेखि ट्राफिक व्यवस्थापनसम्म ठूलो सहयोग पुर्‍याउँदै आएका थिए । तर, आन्दोलनका क्रममा अधिकांश क्यामेरा तोडफोड भएपछि अहिले केही थान मात्रै सञ्चालनमा छन् । प्रविधिको युगमा सुरक्षा निगरानीको यति महत्वपूर्ण माध्यम लामो समयसम्म निष्क्रिय रहनु राज्य, स्थानीय सरकार र समुदाय सबैका लागि प्रश्न हो ।

सीसी क्यामेरा केवल घटनाको रेकर्ड राख्ने उपकरण मात्र होइन, अपराध नियन्त्रण गर्ने प्रभावकारी माध्यम पनि हो । दुर्घटना गराएर भाग्ने चालक, चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान गर्न यसको भूमिका महत्वपूर्ण हुन्छ । विगतमा यही प्रविधिको सहयोगमा धेरै घटनाको अनुसन्धान सफल भएका उदाहरण छन् ।

बिर्तामोडजस्तो तीव्र गतिमा विस्तार भइरहेको शहरमा सीसी क्यामेरा अनिवार्य आवश्यकता हो । सुरक्षा व्यवस्थाको जिम्मेवारी केवल प्रहरीको मात्र होइन । यो मामिलामा स्थानीय सरकार, व्यवसायी, उद्योगी, नागरिक समाज र आम नागरिकबिच सहकार्य आवश्यक छ । सार्वजनिक सुरक्षामा लगानीलाई खर्च होइन, दीर्घकालीन सुरक्षा पूर्वाधारका रूपमा बुझ्नुपर्छ ।

आन्दोलन वा अन्य कारणले क्षति पुगेका संरचना पुनःस्थापना गर्न ढिलाइ गर्नुले अपराधीलाई सहज वातावरण सिर्जना गर्छ । नागरिकले सुरक्षित महसुस गर्ने शहर निर्माण गर्न बिर्तामोडमा तत्काल प्रभावकारी सीसी क्यामेरा प्रणाली पुनः सञ्चालन गर्न आवश्यक छ । आधुनिक शहरको पहिचान ठूला भवन र व्यापारिक गतिविधिले होइन, सुरक्षित वातावरणले पनि निर्धारण गर्छ भन्ने हेक्का सबैले राख्नु पर्छ । बिर्तामोडको सुरक्षा निगरानीलाई फेरि प्रभावकारी बनाउने जिम्मेवारी सम्बन्धित निकायले अब गम्भीरतापूर्वक लिनुपर्छ ।

शेयर गर्नुहोस :

0
Shares