सम्पादकीय

युवा आवाज सुनौँ

युवा आवाज सुनौँ


युवापुस्ता कुनै पनि देशको वर्तमान शक्ति र भविष्यको बलियो आधार हो । उनीहरूको सोच, आकांक्षा र असन्तुष्टिलाई बेवास्ता गरेर राजनीति र समाजलाई सही दिशामा अघि बढाउन सकिँदैन । पछिल्लोसमय राजनीतिक दल र युवा पुस्ताबिच बढ्दै गएको दूरीले यही तथ्यलाई उजागर गर्छ ।

झापाको बाह्रदशीमा नेकपा एमालेले आयोजना गरेको ‘कफी विथ कमरेड’ कार्यक्रम युवाका कुरा सुन्ने र उनीहरूका प्रश्नको सामना गर्ने एउटा रचनात्मक प्रयास हो । जेनजी आन्दोलन, त्यसपछिका राजनीतिक घटनाक्रम, पार्टीको नेतृत्व, टिकट वितरणमा पारदर्शिता, युवालाई अवसर, किसानका समस्या र जनप्रतिनिधिको कार्यशैलीबारे युवाले खुलेर प्रश्न राख्नुलाई सकारात्मक रुपमा लिनुपर्छ । यसले युवापुस्ता राजनीतिप्रति निरपेक्ष छैन, बरु राजनीति सुध्रियोस् र मुलुकको भविष्य सुरक्षित बनोस् भन्ने चाहन्छ भन्ने देखाउँछ ।

युवाका कुरा सुन्नु मात्रै पर्याप्त हुँदैन । उनीहरूले उठाएका प्रश्नको जवाफ व्यवहारबाट दिन सक्नुपर्छ । पार्टीलाई समयानुकूल बनाउने, नेतृत्वमा पुस्तान्तरणलाई सहज बनाउने, योग्य र क्षमतावान युवालाई जिम्मेवारी दिने तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्ने विषय भाषणमा मात्र सीमित हुनु हुँदैन । युवाको आलोचनालाई विरोध ठान्ने होइन, सुधारको अवसरका रूपमा लिनुपर्छ ।

युवाले गाउँघरमा भोगिरहेका समस्या समाधान गर्न पनि राजनीतिक दल र जनप्रतिनिधि जिम्मेवार हुनुपर्छ । किसानले अनुदान नपाउने, नागरिकले समयमा जग्गाधनी प्रमाणपुर्जा नपाउने र जनप्रतिनिधिले अपेक्षाअनुसार काम नगर्ने जस्ता प्रश्नको सम्बोधन नाराले होइन, परिणामले गर्नुपर्छ ।

यो सन्देश एमालेका लागि मात्रै होइन । सबै राजनीतिक दल, सरकार, स्थानीय तह र सामाजिक संघसंस्थाका लागि यो उत्तिकै सान्दर्भिक छ । युवासँग संवाद गर्ने संस्कार राजनीतिक दलभित्र मात्र होइन, सार्वजनिक जीवनका हरेक क्षेत्रमा स्थापित हुनुपर्छ ।

युवालाई आफ्नो पक्षमा तान्ने उद्देश्यले मात्रै होइन, उनीहरूको भावना बुझ्ने, असहमति सुन्ने र निर्णय प्रक्रियामा सहभागी गराउने इमानदार प्रयत्न आवश्यक छ । युवा पुस्तालाई आश्वासन होइन, अवसर चाहिएको छ । उपदेश होइन, सहभागिता चाहिएको छ । प्रतिबद्धता होइन, परिणाम चाहिएको छ ।

अन्ततः संवादको सफलता कफीको स्वादमा होइन, त्यसपछि हुने व्यवहार परिवर्तनमा मापन हुन्छ । युवाका आवाज सुनौँ, उनीहरूका जायज माग सम्बोधन गरौँ र पुस्ताबिचको दूरी घटाउँदै सहकार्यको वातावरण बनाऔँ । यही नै सुदृढ राजनीति र समुन्नत समाज निर्माणको बलियो आधार हो ।

शेयर गर्नुहोस :

0
Shares