सम्पादकीय

प्रशंसनीय प्रहरी सक्रियता

प्रशंसनीय प्रहरी सक्रियता


अनलाइन ठगीका घटना बढिरहेका बेला इलाका प्रहरी कार्यालय अनारमनीले १७ जना सर्वसाधारणको १३ लाख ११ हजार ६ सय रुपैयाँ फिर्ता गराएको छ । यो आफैँमा एउटा सकारात्मक काम हो ।

प्रहरीले हराएका तथा चोरी भएका १६ थान मोबाइलसमेत सम्बन्धित धनीलाई बुझाएको छ । यसले प्रहरी सक्रिय भएमा पीडितले राहत पाउन सक्छन् भन्ने देखाएको छ ।

आज अनलाइन माध्यमबाट सर्वसाधारण विभिन्न बहानामा ठगिइरहेका छन् । कहिले उपहार परेको भन्दै कर तिर्न रकम मागिन्छ, कहिले सस्तो मूल्यमा सामान उपलब्ध गराउने प्रलोभन देखाइन्छ । आकर्षक विज्ञापन र लोभलाग्दा प्रस्तावमा विश्वास गर्दा सर्वसाधारणले आफ्नो मेहनतको कमाइ गुमाउनुपरेको छ । कतिपय अवस्थामा पैसा गुम्छ, सामान प्राप्त हुँदैन र ठगी गर्ने व्यक्ति सम्पर्कविहीन हुन्छन् ।

यस्तो अवस्थामा पीडितका लागि प्रहरी नै प्रमुख आशा र भरोसाको केन्द्र हो । तर, प्रहरीमा उजुरी परेपछि मात्रै होइन, अपराध हुन नदिन र पीडितलाई न्याय दिलाउन पनि प्रहरी उत्तिकै सक्रिय हुनुपर्छ । प्रहरीको इच्छाशक्ति, अनुसन्धानप्रतिको प्रतिबद्धता र समन्वयले अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन सकिन्छ । बिर्तामोडको पछिल्लो घटनाले पनि प्रहरीको सक्रियता र संस्थागत प्रयासको महत्त्व उजागर गरेको छ ।

यद्यपि, प्रहरीको सक्रियता कुनै व्यक्ति वा अधिकारीको इच्छामा मात्रै निर्भर हुनुहुँदैन । नागरिकका गुनासा र उजुरीलाई गम्भीरतापूर्वक लिने, अनुसन्धानलाई परिणाममुखी बनाउने र पीडितलाई न्यायको अनुभूति गराउने काम नियमित हुनुपर्छ । अहिले रकम फिर्ता गराउन देखाइएको सक्रियता निरन्तर रहनु आवश्यक छ । ठगीमा संलग्नलाई कारबाही गर्ने र यस्ता अपराध दोहोरिन नदिने विषयमा पनि प्रहरीको ध्यान जानुपर्छ ।

अर्कोतर्फ, नागरिक स्वयम् पनि सचेत हुनुपर्छ । अपरिचित व्यक्तिको प्रलोभनमा परेर रकम पठाउने, बैंक खाताको विवरण, ओटीपी तथा पासवर्ड उपलब्ध गराउने काम गर्नुहुँदैन । अनलाइनमा देखिने हरेक विज्ञापन र प्रस्ताव विश्वसनीय हुँदैनन् । सामान खरिद गर्नुअघि विक्रेताको विश्वसनीयता जाँच्ने र शङ्कास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउने बानी बसाल्नुपर्छ ।

शेयर गर्नुहोस :

0
Shares