बैशाख २१, २०८१ शुक्रबार

नेकपाको धारणा खोई ?

सम्पादकीय

मानव अधिकार आयोगले सञ्चारमाध्यममा आएका घटनालाई अध्ययन गरेर सरकारलाई ध्यानाकर्षण गराउछ । घटना बाहिर आइसके पछि आयोगले कसैको उजुरी पर्खदैन । तर, राजनीतिक दलसँग जोडिएका कतिपय घटनाहरु सञ्चारमाध्यममा सार्वजनिक भएपनि दलहरु पीडितको उजुरी नै पर्खने गर्छन् । झापाको बिर्तामोड–१० स्थित तोरीबारी गाउँमा रहेको २८ कठ्ठा जग्गा हत्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटी सदस्य खगेन्द्र पराजुलीले गरेको चलखेल बाहिर आउँदा पनि पार्टीले आधिकारिक रुपमा धारणा सार्वजनिक गरेको छैन ।

घटना सार्वजनिक भएपछि पार्टी अध्यक्ष चिन्तन पाठकले पीडितले पार्टीमै उजुरी दिएमा अध्ययन गरिने बताएका छन् । उनले उजुरी परेमा पार्टीले कार्यदल बनाउने र कार्यदलको अध्ययन अनुसार कारबाही गरिने बताइसके । तर, नेकपाको कार्यदलको काम सुस्त रहेको पाइएको छ । जसका कारण पीडकले उन्मुक्ति पाइरहेका छन् । गत वर्ष चैते धानमा लाखौं घोटला गरेको आरोप लागेका जिल्ला कमिटी सदस्य किना राजवंशीलाई अहिलेसम्म कुनै कारवाही गरिएको छैन । जसका कारण किना र किना प्रबृत्ति भएका नेकपाका नेताको आत्मबल बलियो हुँदै गएको छ ।

एक करोडको जग्गा हत्याउन खोज्ने नेकपाका नेता सत्ता र शक्तिको आडमा छन् । उनका बारेमा घटना सार्वजनिक भइसक्दा पनि पार्टी चुँइक्क नबोल्नुले पार्टीमाथि नै शंका उब्जिएको छ । एकातिर बोल्दा अर्कातिर पोल खोलिएका कि भन्ने डर हो ? होइन भने नेकपाले यति भयानक बद्मासीलाई उन्मुक्ति दिन मिल्दैन । यसैले कार्यलको नाटक मञ्चन गर्नुभन्दा पार्टीले तत्काल एक्शन लिन जरुरी छ । कुनै पनि राजनीतिक दलमा स्वच्छ छविको नेता कार्यकता हुनुपर्छ । नत्र, पार्टी र राष्ट्रलाई नै जोखिम हुनेछ ।

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]