बैशाख १४, २०८१ शुक्रबार

तिहार सकिएसँगे छठको तयारी

झापा । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट निर्माण सुरु भएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सचिव नवलकिशोर यादवले जानकारी दिनुभयो ।

तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । छठ पर्वको तयारीस्वरूप कात्तिक २० गते शनिबारको वाग्मती सफाइ पनि यसै क्षेत्रमा गरिएको थियो । एउटा छठ घाट पूजाका लागि रु एक हजार १०० शुल्क समितिले लिने गरेको छ । छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको उहाँले सुनाउनुभयो । गत वर्ष कोरोनाका कारण छठ पूजा स्थगित गरिएको थियो । विसं २०७६ मा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई रु छ लाख सहयोग गरेको थियो । यस वर्ष पनि सहयोग गर्ने वचन प्राप्त भएको समितिले जनाएको छ । यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ । छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।

कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सक्खर र घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । यस वर्ष कात्तिक २४ गते बुधबार यस पर्वको मुख्य दिन परेको छ । भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको समितिका सचिव यादव बताउनुहुन्छ ।

नयाँ अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रूपमा समेत उपयोग गरिँदै आएको छ । दुई दशकअघिसम्म तराई क्षेत्रमा मात्र विशेषरूपमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ मनाउन थालिएको छ । विगत वर्षमा काटिएको छठ पर्वको सार्वजनिक बिदालाई सरकारले यस वर्षदेखि भने फेरि निरन्तरता दिएको छ । पर्वका अवसरमा कात्तिक २४ गते बुधबार सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति : कार्तिक २१, २०७८ आईतबार  ६ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]