बैशाख २५, २०८१ मंगलबार

दुर्घटना न्यूनिकरण अभियान चलाऔं

सम्पादकीय
झापामा मंसिर महिनाको १७ दिनमा सवारी दुर्घटनाबाट ११ जनाले ज्यान गुमाए । यो समयमा ३६ वटा सवारी दुर्घटना भएका छन् । त्यसमध्ये अधिकांस दुर्घटना दुई पाङ्ग्रे सवारी रहेका छन् । ट्राफिक प्रहरीका अनुसार सबै जसो दुर्घटना रातीको समयमा भएको छ । झापाको दुर्घटना विवरण डरलाग्दो छ । जिल्लामा सवारी दुर्घटनाका कारण ठुलो मानवीय क्षति भइरहेको छ । ट्राफिक प्रहरीको जनशक्ति अत्यन्तै न्यून छ । न्यून जनशक्तिका बाबजुत पनि ट्राफिक व्यवस्थापन जारी छ ।

जिल्लामा विमानस्थल भएको कारण भिआइपीहरुको सवारी पनि उत्तिकै हुने गर्छ । उक्त सवारीका दिन ट्राफिक प्रहरीको परिचालन न्यून हुन्छ । जसका कारण अन्य क्षेत्रमा ट्राफिक व्यवस्थापन हुन सक्दैन । दिनुहँ जसो हुने भिआइपी सवारीले झापामा जनशक्ति अनुसार चाप थाम्न पनि समस्या छ । यसैले सबैभन्दा पहिलो आवश्यकता भनेको जनशक्ति थप गर्नुपर्ने देखिन्छ । यहाँ जनशक्ति थप भएमा मात्रै आवश्यक व्यवस्थापन सहज हुन्छ । दुर्घटनाका धेरै कारणहरुमध्ये जनशक्ति अभाव पनि हो । यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

अहिले विश्वकप फुटबल चलिरहेको छ । रातको समयमा फुटवल सकेर आवतजावत गर्नेहरुको संख्या पनि धेरै छ । मादकपदार्थ सेवन गर्ने, तीब्र गतिमा सवारी चलाउने हुँदा दुर्घटना बढ्दैछ । गत साउनयता ५३ जनाले दुर्घटनाकै कारण ज्यान गुमाएका छन् । तीन सयभन्दा धेरै सवारी दुर्घटना भइसकेको छ । अब, झापामा सवारी दुर्घटना न्यूनिकरणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने देखिन्छ । ट्राफिक प्रहरी, सामाजिक संघ संस्थाहरुको सहकार्यमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेर दुर्घटना कम गर्न सकिन्छ । त्यसका लागि ढिला नगरी अभियानको तयारीमा अग्रसरता देखाइयोस् ।

प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार  १० : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]