बैशाख २२, २०८१ शनिबार

मोबिनाको जस्तै मेहनत गरौं

सम्पादकीय
केही वर्षयता वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दो छ । नेपाली श्रमशक्ति वैदेशिक रोजगारीमा गइरहेको तथ्याङकले कुनै दिन देशमा युवाको खडेरी नै लाग्ने अवस्था बन्दैछ । रोजगारी र अध्ययनका नामममा विदेशिएको युवाको संख्या असामान्य छ । जसलाई रोक्नैपर्छ । रोक्नका लागि सरकारको नीति चाहिन्छ । र, युवाहरुको अठोट पनि चाहिन्छ । देशमा केही गर्छु, मेहनत गर्छु भन्नेहरुका लागि धेरै–धेरै संभावनाहरु छन् । संभावनाहरु नखोज्ने, निराश मात्र हुनेहरुले देशमै युवाहरुले गरिरहेको उदाहरणीय कामबाट प्रेरणा पनि लिन सकिन्छ । त्यसका लागि इच्छा र संकल्प चाहिन्छ ।

देशमा बस्नका लागि रोजगारी हुनैपर्छ भन्ने एउटा भाष्य पनि छ । आफै स्वरोजगार बन्छु भन्नेहरुको संख्या कमजोर नै छ । सीप सकेर देशमै केही गरौं भन्नेहरुका लागि कतिपय चुनौतिहरु समाधान गर्न कठिन पनि छ । तर, प्रयास गर्नुको विकल्प छैन । देशमा शैक्षिक बेरोजगार बढिरहेको सूचनाहरु सार्वजनिक भइरहन्छ । तर, मेहनत गर्दा सफल बन्न सकिन्छ भन्ने कयौं उदाहरण हाम्रो वरिपरी पर्याप्त छ । झापा दमककी मोबिना खातुनले एकै वर्षमा लोकसेवा आयोगका सात वटा परीक्षा लेखिन् । लेखेका सबै परीक्षामा उनी सफल पनि भइन् । उनको मेहनत सफलतामा परिणत भयो । त्यसैले मन डुलाएर होइन, मनलाई सम्हालेर मेहनत गरौं ।

लोकसेवामा कयौं पटक परीक्षा दिएर पनि सफल हुन नसकेको पर्याप्त उदाहरण छन् । त्यस प्रकारका निराशाजनक उदाहरण भन्दा पनि आशा जगाउने उदाहरणहरु अध्ययन गर्नुपर्छ । मोविना खातुन जस्तै मेहनत गर्ने हो भने अवश्य सफल बन्न सकिन्छ । हाल कृषि विकास बैंक राजविराजमा कार्यरत उनले कनिष्ठ सहायक (नेपाल बैंक लिमिटेड), सहायक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), वरिष्ठ सहायक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), सहायक प्रबन्धक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), व्यवसाय सहायक (कृषि बैंक लिमिटेड) मा नाम निकाल्न सफल भइन् । घर परिवार, व्यवसाय र दैनिक जीवनलाई व्यवस्थापन मिलाएर पनि अध्ययनबाट प्रतिफल निकाल्न सकिने बलियो उदाहरण सबैले आफ्नो जीवनमा लागू गरौं । र, निराश होइन, आशावादी भएर बाँकी जीवनलाई अघि बढाऔं ।

प्रकाशित मिति : चैत्र २१, २०८० बुधबार  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]