धर्म/संस्कृति

प्रविधिबाटै आशीर्वाद ग्रहण गरौँ

प्रविधिबाटै आशीर्वाद ग्रहण गरौँ


काठमाडौ । यतिबेला बडादशैँको रौनक घर–घरमा भित्रिने समय भयो तर यस वर्ष कोरोना भाइरसका कारण मानिसमा उत्साह छैन । कोरोना महामारी बढ्दै जाँदा सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । यस्तो बेला सबैभन्दा बढी जोखिममा छन्– ज्येष्ठ नागरिक ।

बडादशैँमा टाढाटाढा रहेका आफन्तहरू जम्मा हुने, रमाइलो भेटघाट गर्ने अनि मान्यजनको हातबाट टीका, जमरा ग्रहण गर्ने र आशीर्वाद लिने प्रचलन छ तर यस वर्षको दशैँको मौलिकता नै परिवर्तन हुने भएको छ । सार्वजनिक ठाउँमा पिङ लगाउन नपाउनेदेखि शक्तिपीठमा पूजा गरेर भीडभाड गर्न नपाउनेसम्म । आफू र आफ्नो परिवारलाई जोखिममा राखेर जमघट गर्ने त कुरै भएन । लामो यात्रा गर्दा कोरोना जोखिम बढ्नै खतरा छँदैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम भन्नुहुन्छ, हामी जहाँ छौँ, त्यहीँ दशैँ मनाउने हो, यस वर्षको दशैँमा प्रविधिको प्रयोग गरी आशीर्वाद लिने अनि हाम्रा बाआमा–हजुरबा हजुरआमालाई यस वर्ष बचाइयो भने अर्को वर्ष टीका लगाइदिनुहुन्छ र एकदम रमाइलोसँग मनौँला ।

यस्तै भीडभाड नगर्ने, टीका लगाउने नै हो भने पनि लगाउने र लगाइदिने दुवैजनाले माक्स राम्ररी प्रयोग गर्ने, भोज भतेर नगर्ने, थोरै प्रसाद लिएर जाने र प्रसाद खाँदा पनि दुई मिटरको दूरी कायम गर्ने सुझाव डा. गौतमको छ । प्रवक्ता गौतम भन्नुहुन्छ, सार्वजनिक सवारीमा सकभर यात्रा नगर्ने, अरूको घरमा टीका लगाउन नजाने, ससुराली, माइत, मावल नजाने, यसपटक कोरोनालाई छाडिदिने । बाँचियो भने अर्को वर्ष जाउँला र रमाइलो गराँैंला ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोराना सङ्क्रमितमा सबैभन्दा धेरै युवा र वयस्क उमेर समूह छन् तर कोरोनाले निधन भएकाहरूमध्ये १० प्रतिशतभन्दा बढी ज्येष्ठ नागरिक छन् । यो मृत्युदर एकदमै उच्च रहेको भनाइ स्वास्थ्य मन्त्रालयको छ ।

दूरी कायम गरेर आशीर्वाद
कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र छाउनी काठमाडाँैंले ज्येष्ठ नागरिकसँग कोरोनाविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता कम हुने हुँदा दशैँमा विशेष ध्यान पु¥याऔँ भनेर आग्रह गरेको छ । केन्द्रले भनेको छ, ज्येष्ठ नागरिकसँग भौतिक दूरी कायम गरेर आशीर्वाद थापौँ । घरभित्रका परिवारका सदस्यबाहेक अरू कोही पनि उहाँहरूको संसर्गमा नजाऔँ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले सबैसँग आग्रह गर्दै भनेको छ, हामी घर फर्किए हाम्रा गाउँमा भएका अग्रज र ज्येष्ठ नागरिकलाई जोखिम बढ्छ, त्यसैले यो दशैंँमा सकेसम्म जहाँ छौँ, त्यहीँ बसौंँ । टीका आदानप्रदान गर्दा, खाना बनाउँदा, खाँदा साबुनपानीले राम्रोसँग हात धुन नर्बिसौँ । ज्येष्ठ नागरिकलाई पनि हात धुन सम्झाउने गराँैं । रुघाखोकी लाग्ने, ज्वरो आएको छ भने ज्येष्ठ नागरिकबाट टाढै रहन पनि आग्रह गरिएको छ ।
आशीर्वाद थाप्नै पर्ने भए पनि आधुनिक प्रविधि प्रयोग गर्न सकिने भनाइ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका निर्देशक डा. रामअधार यादवको छ ।

शेयर गर्नुहोस :

0
Shares