बिर्तामोड, कात्तिक ९ । झापाको भद्रपुरस्थित ज्ञानेचोकमा महिला फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । भद्रपुर ४ मा प्रथम बलिहाङ तङनाम खुला नकआउट महिला फुटबल प्रतियोगिता हुने भएको हो ।
आयोजक पूर्णिमा युवा क्लबले आज मायालु सामुदायिक वनको खेल मैदानमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता यही कात्तिक १४ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ ।
क्लबका अध्यक्ष सतिस लिम्बुका अनुसार प्रतियोगितामा आठवटा टिमको सहभागिता हुनेछ । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, उदयपुरका सातवटा र एक टिम भारतको हुनेछ ।
प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले नगद ८१ हजार रुपैयाँ, ट्रफी र मेडल पाउने क्लबका सचिव सनतकुमार राई (सञ्जोगी)ले जानकारी दिए ।
प्रत्येक दिनको प्लेयर अफ द म्याचले दुई हजार रुपैयाँ पाउनेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उच्च गोलकर्ताले नगद तीन हजार पाँच सय रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न १२ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका कोषाध्यक्ष मानप्रसाद लिम्बु (वीरबल) ले बताए ।
ग्रामीण क्षेत्रबाट राष्ट्रियस्तरका महिला खेलाडी उत्पादन गर्दै फुटबलप्रति आकर्षण बढाउन तथा युवाहरुलाई लागुऔषधको कुलतबाट टाढै राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक विशाल इदिङगोले बताए ।








प्रतिक्रिया