पैसा नतिर्दा पानीको लाइन काटियो
बिर्तामोड । झापाको बिर्तामोडलाई चिनाउने ‘मुक्ति स्तम्भ’ मा धेरै वर्षपछि केन्द्र सरकार मन्त्री फुल रोप्न पुगे । शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले केहि थान फुल रोपेर विदा भए । उनले रोपेका फुलमा अहिले पानीको अभाव छ ।

बिर्तामोडको मुख्य पहिचान नै मुक्ति स्तम्भ हो । जनताको विजय प्राप्त भएपछि मुक्ति चोक नामाकरण गरेर स्तम्भ तयार गरिएको थियो । जनआन्दोलन स्तम्भ भनिने मुक्ति चोकको स्तम्भ अहिले वेस्याहार भएको छ । बिर्तामोडलाई नै सुन्दर बनाउने स्तम्भको संरक्षण नगर्दा कुरुप देखिएको सरसफाई अभियान्ता बिष्णु आचार्यले बताए । उनले भने, स्तम्भ क्षेत्र राम्रो देखियो भने बिर्तामोड नै राम्रो र सुन्दर देखिन्छ ।
बिर्तामोडमा लामो समयदेखि सरसफाई अभियान सञ्चालन गर्दै आएका आचार्यले मुक्ति चोकको स्तम्भ सुन्दर बनाउन फुल रोपिएको बताए । अहिले त्यहि फुल बचाउनु समस्या भइरहेको छ । फुल बचाउन र सरसफाईका लागि आवश्यक पानीको प्रवन्ध गर्न नसकिएको उनको भनाई छ ।
मुक्ति चोकको सरसफाई र फुलको संरक्षणका लागि धारा जडान गरिएको थियो । जडान गरिएको धाराको लाइन काटिएको छ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका खड्ग राज गिरीले धारा काटिएको पुष्टि गरेका छन् । १ वर्षदेखि धारा काटिएको गिरीले जानकारी दिएका हुन् । उनका अनुसार १५÷ १६ हजार रुपैयाँ तिर्न बाँकी छ । त्यसैले धारा काटियो ।
पानीको चरम अभाव भएपछि नजिकै रहेको ट्राफिक प्रहरी कार्यालयले सहयोग गर्दै आएको छ । केहि ट्राफिक प्रहरी आफैले पानी बोकेर हाल्ने काम गर्दै आएका छन् ।
स्तम्भको जनआन्दोलन स्मृति प्रतिष्ठानले संरक्षण गर्दै आएको छ । प्रतिष्ठानका सचिव हरिचरण शिवाकोटीले हरेक वर्ष रंग रोगन गर्दै आएको बताए । उनले पानीको धाराका बारेमा आफुलाई जानकारी नभएको बताए ।
गिरीजा प्रसाद कोइरालाले शिलान्यास गरेको स्तम्भ कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । स्तम्भ निर्माण भएपछि बिर्तामोडका दर्जनौं संघसंस्थाले संरक्षणमा चासो देखाए पनि अहिले उनीहरु समेतको वेवास्थाले स्तम्भ उपेक्षामा परेको बिर्तामोडबासी बताउँछन् ।







प्रतिक्रिया