बिर्तामोड । आइतवार विहान झापाको बिर्तामोड –२ स्थित चैतुबारीमा एक महिलाको शव फेला परेको छ । स्थानीय दुर्वल राजवंशीकी श्रीमती अन्दाजी ४२ बर्षीया विनोसरी राजवंशीको शव घर नजिकै खेतमा फेला परेको इप्रका बिर्तामोडले जनाएको छ ।
अनुहारमा चोट पटक लागेको र कपडाहरु च्यातिएको अवस्थामा शव भेटिएको प्रहरीको भनाई छ । राती श्रीमानलाई खाना पुर्याउन हिडेकी राजवंशी नपुगेपछि रातभर खोजी गरिएको थियो । खोजविनको क्रममा उनको शव विहान फेला परेको हो ।
शव भेटिए लगत्तै बलात्कारपछि हत्या गरेको हुन सक्ने आशंका गरिएको भए पनि साँझसम्मा प्रहरीको अनुसन्धान अर्कैतिर मोडिएको छ । महिलाको साथबाट १३ हजार नगदसमेत फेला परेको प्रहरीले बताएका छन् । महिलाको शव नजिकै टर्च लाइट दुई टुक्रा भएको अवस्थामा फेला परेको छ । प्रहरीले टर्च भेटेपछि परिवारभित्रै शंका गरेको छ । तर, कसलाई शंका गरिएको हो भन्ने व्यक्तिका बारेमा प्रहरीले खुलाएको छैन ।
बिर्तामोडका डिएसपी मुकुन्द रिजालले थप अनुसन्धानका लागि धरानबाट मगाइएको लैला नामक कुकुरले हत्याराको खोजी गरेको थियो । कुकुरको सहारामा प्रहरीले थप केहि सूचना पत्ता लगाएका छन् । शवको आइतवार नै पोष्टमार्टमका लागि धरान लगिएको छ । घटनास्थल क्षेत्रमा तीन वटा उधोगसमेत सञ्चालित छन् । मृतक महिलाको श्रीमान कुखुरा फर्ममा काम गर्दै आएका थिए ।







प्रतिक्रिया