Banner news

उखु किसानले आन्दोलन स्थगित नगर्ने

उखु किसानले आन्दोलन स्थगित नगर्ने


काठमाडौँ । भुक्तानी दिने क्रम सुरु भए पनि उखु किसानले आन्दोलन स्थगित नगर्ने भएका छन् । सरकार र आन्दोलनरत उखु किसानबीच आइतबार भएको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगीले भुक्तानी दिने क्रम सुरु गरेकाले आन्दोलन स्थगित गर्न आग्रह गर्नुभएको थियो तर उखु किसानले सम्पूर्ण भुक्तानी नभएसम्म आफूहरू आन्दोलन स्थगित नगर्ने अडानमा रहेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकरी दिनुभयो ।

आन्दोलन सुरु गरेयता श्रीराम सुगर मिलले २५ करोड र अन्नपूर्ण सुगर मिल तथा इन्दिरा सुगर मिलका सञ्चालकले आठ करोड रुपियाँ भुक्तानी गरिसकेका छन् । ती मिलका सञ्चालकले दिनदिनै भुक्तानी गर्दै आएको भए पनि किसानले पूरै भुक्तानी नभएसम्म शान्तिपूर्ण आन्दोलन गर्ने धारणा वार्तामा राखेको उहाँले जानकारी दिनुभयो । आन्दोलनको अगुवाइ गरिरहनुभएका राकेश मिश्रले सोमबारदेखि मौन आन्दोलन गर्ने बताउनुभयो । मन्त्रालयले किसानको सम्पूर्ण बक्यौता भुक्तानी गराउन पहल गर्ने प्रतिबद्धतासमेत गराएको छ । उद्योगीले पनि यो महिनाभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराइदिने प्रतिबद्धता जनाएका छन् तैपनि किसानलाई विश्वास नलागेको सहप्रवक्ता केसीले बताउनुभयो ।

मन्त्रालयले गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरूलाई भुक्तानीका लागि उद्योगीलाई दबाब दिन भनिसकेको छ । त्यही भएर अहिले यत्तिको भुक्तानी भएको छ । उद्योग मन्त्रालयका अनुसार श्रीराम सुगर मिलले १० करोड, अन्नपूर्ण सुगर मिलको नौ करोड र इन्दिरा सुगर मिलको चार करोड ७० लाख भुक्तानी गर्न मात्र बाँकी रहेको छ । त्यो पनि यही महिनाभित्र भुक्तानी गर्ने उद्योगीहरूको प्रतिबद्धता आएको छ ।

अरू चिनी उद्योगीले अधिकांश किसानको खाता नम्बर प्राप्त नभएका कारण भुक्तानीमा समस्या भएको जानकारी उद्योग मन्त्रालयलाई जानकारी गराएको छ । जो सम्पर्कमा छन्, जसको बैङ्क खाता छ, त्यसको भुक्तानी भइरहेको छ । जसको बैङ्क खाता छैन, त्यसको भुक्तानीमा समस्या भइरहेको सहप्रवक्ता केसीले बताउनुभयो । मन्त्रालयमा भएको वार्तामा पनि किसानका प्रतिनिधिले बैङ्क खाताको समस्या रहेको कुरा स्वीकार गरेको उहाँले बताउनुभयो ।  

शेयर गर्नुहोस :

0
Shares