जनकपुरधाम । वनको जग्गामा वृक्षरोपण गर्दा टीकाध्वज खड्का ११ वर्षका थिए । सार्वजनिक जग्गामा वन कार्यालयले बोटबिरुवा रोपेको थियो । २०४३ सालको सो घटना खड्काको मानसपटलमा अझै ताजै छ ।
उनका बुवा जयबहादुर वन हेरालुका रूपमा खटिएका थिए । ‘बुवासँगै म पनि वन रुङ्न जान्थें’, खड्काले भने, ‘३५ वर्षसम्म वन रहेको क्षेत्र हालै व्यक्तिले काटान गरेका छन् । वनको बीचमा व्यक्तिको जग्गा कसरी भयो ? त्यो लालपुर्जा कहाँबाट आयो ? कसले दियो ? अनौठो लागेको छ ।’
फँडानी गरिएको जग्गानजिकै बर्दिबास मेडिकल कलेज बन्दै छ । त्यसको वरिपरिको जग्गाको भाउ निकै महँगो भएको छ । फँडानी भएको जंगल महोत्तरीको बर्दिबासस्थित रम्तेल डाँडा सामुदायिक वन क्षेत्रमा पर्छ । खोलाको जग्गा वनतिर सरेको भन्दै वन क्षेत्रमा कम्तीमा पाँच बिघा हाराहारीका रूख व्यक्तिले कटान गरेको खड्काले बताए ।
२०४९ सालमा सामुदायस्तरमा समिति गठन गरेर २०५९ सालमा संरक्षणका लागि स्थानीयलाई वन हस्तान्तरण गरिएको थियो । नापी कार्यालय बर्दिबासका सर्वेक्षक तथा अमिन रामदरश राउतले वन क्षेत्रमा व्यक्तिको जग्गा रहेको ठहर्याएका थि ए। सोही आधारमा रूख कटान गर्न डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले लालपुर्जा देखाएका व्यक्तिलाई कटान गर्न आदेश दिए ।

सो क्षेत्रमा १ हजार २ सय क्युफिट काठ कटान भएको छ । १९ लाख रुपैयाँमा काठ बिक्री भएको खुलेको छ । रूख कटान भएपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र बर्दिबासमा उजुरी दर्ता गराएका छन् । एक सय रूख कटान गर्न वन कार्यालयले आदेश दिएको थियो । सबै रूख कटान भइसकेको छ ।
वनको जग्गा कसरी व्यक्तिको भयो भन्नेबारेमा नेपाली कांग्रेसले छानबिनको माग गरेको सो पार्टीका महासमिति सदस्य चिरञ्जीवी हमालले बताए । भू–माफियाको कब्जामा चुरे क्षेत्र परेकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । ‘रूख कटान गरिएको जग्गा हाम्रो नजरमा सामुदायिक वन हो’, स्थानीय सोमबहादुर कार्कीले भने, ‘नम्बरी जग्गाको नाउँमा सरासरी वन फँडानी भएको देखिन्छ । सत्यतथ्य छानबिन गरेर वन फाँड्नेलाई कारबाही हुनुपर्छ ।’
रूख कटान गर्न बर्दिबासका लीलामणि आचार्य र कृष्णप्रसाद गौतमले १ बिघा २ कट्ठा ११ धुरको जग्गाधनी पुर्जा डिभिजन वन कार्यालयमा पेस गरेका थिए । जग्गाधनीले गत असोज २३ मा डिभिजन वन कार्यालय जलेश्वरमा निवेदनमा पेस गरेका बताइएको छ । सो निवदेनमा भनिएको छ, ‘मेरो निजी नम्बरी आवादी जग्गामा रूख लगाई हुर्काई राखेको सिसौ, टिक, मसला जातका रूख कटान गरी अन्यन्त्र बिक्री वितरण गर्नुपर्ने भएकाले आवश्यक प्रक्रिया बढाइदिन अनुरोध छ ।’
निवेदनमा उनीहरूले वनसँग सिसौका १ सय ३० रूख, मसलाका ८०, टिकका १ सय ४०, अन्य ३५ सहित ३ सय ८५ वटा रूख कटान माग गरेका छन् । यो निवेदन कात्तिक १९ मा दर्ता भएको थियो । त्यसपछि वनले प्रक्रिया चालेर कटान गर्न आदेश दिएको थियो ।
स्थानीय युवा विजय पोखरेल भन्छन्, ‘खोलाको नम्बरी जग्गाको लालपुर्जा देखाएर वनको जग्गा कब्जा गरिएको छ । वनले नै के आधारले कटान आदेश दियो ।’ जग्गाधनीले वन कार्यालयमा निवेदन दिएपछि डिभिजन वन कार्यालय जलेश्वरले कात्तिक १९ मा जाँचबुझ गर्न बर्दिबास सब–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादवलाई पत्राचार गरेको थियो ।
जाँचबुझका क्रममा रम्तेल डाँडा सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष शेरबहादुर राउतले सामुदायिक वन क्षेत्रमा व्यक्तिको नम्बरी जग्गा रहेको बताएका थिए । सो क्षेत्रका रूख कटान गर्दा भूक्षय हुने सम्भावनासमेत नरहेको उनको भनाइ थियो । तर सो वनका पूर्वसचिव गणेश सुनवार भने उपभोक्तासँग कुनै सल्लाह नगरी अध्यक्ष राउतले रूख कटान गर्न स्वीकृति दिएको बताउँछन् । ‘चौकीदारी बसेर हामीले जंगल हुर्काएका हौँ’, उनले भने ।
गत मंसिर १७ मा डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जग्गाधनीलाई रूख कटान गर्न आदेश दिएका थिए । कटान गरिएको क्षेत्रभित्र सालको रूख पनि परेको छ तर त्यो कुरा वन कार्यालयले खुलाएको छैन । रूख कटानमा विवाद भएपछि डिभिजन वन कार्यालयले जग्गाधनीको जग्गा फेरि नापी गर्न नापी कार्यालय बर्दिबासलाई पत्राचार गरेको छ । काटिएको रूखको घाटगद्दी गरेर राख्न सामुदायिक वनलाई पत्र लेखिएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट







प्रतिक्रिया