पहिलो दिन बैठकमा पालिका इञ्चार्जले सूझाव राखे
बिर्तामोड । नेकपा एमाले झापाको विस्तारित बैठकमा वार्षिक कार्ययोजना माथि छलफल सुरु भएको छ । बिर्तामोडस्थित सिद्धार्थ होटलमा आजदेखि सुरु भएको विस्तारित बैठकमा पहिलो दिन स्थानीय तह पालिका कमिटीका इञ्चार्जहरुले सूझाव राखेका छन् ।
पार्टी केन्द्रको अपानि बमोजिम प्रस्ताव गरिएको कार्ययोजनामाथि भोली क्षेत्रीय कमिटी संयोजक, पार्टी प्रदेश कमिटीबाट तोकिएका क्षेत्रीय इञ्चार्ज र केन्द्रीय सदस्यहरुले सूझाव राख्ने कार्यक्रम रहेको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार मंगलवार ११ बजेबाट बैठक सुरु हुने छ ।

विस्तारित बैठकमा झापाको राजनीतिक परिस्थिति , पार्टीको आन्तरिक जीवनका बारेमा गम्भीर रुपमा समीक्षा र छलफल हुने बताइएको छ । बैठकमा एमालेको आन्तरिक जीवनलाई थप व्यवस्थित बनाउदै जाने विषयमा चर्चा भएको थियो । अन्य राजनीतिक दलहरुको भूमिका र उपस्थितिका बारेमा समेत समीक्षा गरिएको छ ।
पार्टीको यसै वर्ष हुने जिल्लादेखि वडासम्मको अधिवेशन, जनसंगठन निर्माण र अधिवेशनमा बैठक केन्द्रीत भएको छ ।
विस्तारित बैठकमा आम नागरिकको दैनिक जीवनका सवाल र वर्गीय मुद्दामा समेत छलफल भएको छ । उक्त बैठकमा वर्तमान सरकारले जनताको निमित्त काम गर्न नसकेको निष्कर्ष निकाल्दै सरकारलाई जनताको मुद्धामा जनदवाव निर्माण गर्ने लगायतका विषयहरुमा छलफल केन्द्रीत भएको सचिव ढुङगेलको भनाई छ ।

उनले ०८४ को निर्वाचनमा एमालेलाई सबै तहमा विजयी गराउनका लागि सोही अनुसाको कार्ययोजना निर्माण हुने बताए । एमालेको पक्षमा समर्थन जुटाउने र नागरिकको बीचमा एमालेलाई स्थापित गराउने योजना कार्ययोजनामा समेटिने उनको भनाई छ ।
विस्तारित बैठकमा पार्टीका स्थायी कमिटी सदस्य हिक्मत कार्की र झापा जिल्ला इञ्चार्ज बिशाल भट्टराईले निर्देशनात्मक मन्तव्य राखेका थिए ।







प्रतिक्रिया