झापा एमालेका पालिका कमाण्डरहरु
बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिका बाहेक नेकपा एमालेले सबै पालिकाहरुमा नयाँ नेतृत्व चयन गरेको छ । मिसन ८४ लाई लक्षित गरेर एमालेले १४ पालिकामा कमाण्डरहरु चयन गरिसकेको जनाएको छ ।
जिल्लाका ६ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले अन्य पालिकामा निर्वाचनको माध्यमबाट नेतृत्व छनौट गरेको हो । एमाले झापाका सचिव तुलसी कार्कीले हल्दिवारी, झापा गापा, कचनकवल, बुद्धशान्ति, मेचीनगर र कमल गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको जानकारी दिए । उनले बिर्तामोड, अर्जुनधारा, भद्रपुर, कनकाई, शिवसताक्षी, गौरादह, दमक र बाह्रदशीमा निर्वाचनको माध्यमबाट नेतृत्व चयन गरिएको बताए ।
झापाको हल्दिवारीमा त्रिलोचन सापकोटा सर्वसम्मत अध्यक्ष भएका छन् । उनी दोस्रो पटक सर्वसम्मत अध्यक्ष भएका हुन् । राष्ट्रिय युवा संघ झापाका पूर्व अध्यक्ष सापकोटा हल्दिवारी १ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।
यस्तै, झापा गाउँपालिकाको अध्यक्षमा मोहन घिमिरे सर्वसम्मत भए । उनी तेह्रथुमबाट झापा बसाई सरेर आएका हुन् । घिमिरे तेह्रथुमका पूर्व जिल्ला कमिटी सदस्य हुन् । कचनकवल गाउँपालिकाको अध्यक्षमा कुलबहादुर कार्की सर्वसम्मत भए । उनी यसअघि गाउँकमिटीको सचिवालय सदस्य एवम् वडा नं. ६ को वडाध्यक्ष थिए । बुद्धशान्तिमा नेत्र प्रसाद रिजाल पुनःअध्यक्षमा दोहोरिएका छन् । उनी दोस्रो गाउँअधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएका हुन् ।
राष्ट्रिय युवा संघका केन्द्रीय पदाधिकारी एवम् पार्टीको प्रदेश कमिटीको जिम्मेवारी सम्हालेका राजु कार्की मेचीनगर कमिटीको अध्यक्षमा सर्वसम्मत भएका छन् । यस्तै, कमल गाउँपालिका कमिटीको अध्यक्षमा हरि प्रसाद ढकाल सर्वसम्मत भएका छन् । उनी यसअघिको कमिटीमा सचिवको जिम्मेवारीमा थिए ।
निर्वाचन भएका पालिकाहरुमा बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् । भट्टराई यसअघि नगरको अध्यक्षकै जिम्मेवारीमा थिए । उनी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । अर्जुनधारा नगर कमिटीको अध्यक्षमा पुराना नेता विर्ख बहादुर प्रधान निर्वाचित भएका छन् । प्रधान कोशी प्रदेशका निवर्तमान प्रदेश सांसद एवम् कोशी प्रदेश कमिटीका पूर्व सदस्य हुन् ।
यसैगरी भद्रपुरको अध्यक्षमा निर्माण कुमार नेपाल निर्वाचित भएका छन् । नेपाल पार्टीको कार्यालय सचिवको रुपमा कार्यरत थिए । कनकाईमा पुराना नेता गोकर्ण ओझा निर्वाचित भएका छन् । उनी पूर्व जिल्ला कमिटी सदस्यको रुपमा काम गरिसकेका नेता हुन् ।
जिल्लाको मध्य भागमा रहेको शिवसताक्षीमा मेदनी दंगाल निर्वाचित भए । उनी पार्टीको ९ नं. वडा कमिटीको अध्यक्ष थिए । यस्तै, गौरादहमा गजेन्द्र घिमिरे निर्वाचित भएका छन् । घिमिरे पार्टीको उपाध्यक्ष थिए ।
दमक नगर कमिटीको अध्यक्षमा राम पौडेल निर्वाचित भएका छन् । दमक नगर कमिटीको सचिवालय सदस्यको रुपका काम गरेका पौडेलले सचिवालय सदस्यबाट अध्यक्षमा फड्को मारेका हुन् ।
यस्तै, सोमवार सम्पन्न मतगणना अनुसार बाह्रदशीको अध्यक्षमा युवा उम्मेद्वार अनिल सापकोटा निर्वाचित भए । सापकोटा राष्ट्रिय युवा संघ प्रदेश कमिटीमा क्रियाशिल थिए । पार्टीको गाउँ कमिटीको सचिवालयमा रहेर काम गरेका उनले अध्यक्षमा जीत हासिल गर्न सफल भएका छन् ।
जिल्लाभर पालिकाहरुमा भएको अधिवेशनबाट एमालेलाई मिसन ८४ मा सफल बनाउन सक्ने नेतृत्व आएको पार्टीका जिल्ला सचिव कार्कीले प्रतिक्रिया दिएका छन् । उनले जिल्लाभर प्रभावशाली नेतृत्व आएको बताए । पालिका कमिटी निर्माणमा नेता कार्यकर्ताहरुको उत्साह पाएको उनको भनाई छ ।
गौरीगञ्ज गाउँपालिका कमिटीको अधिवेशन भने स्थगित भएको छ । जिल्ला पार्टीले तत्काल अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।
यस्तै, जिल्लामा वडा अधिवेशनहरु समेत सुरु भइसकेको छ । जेठ मसान्तभित्र झापाको १३१ वडाको अधिवेशन सम्पन्न गर्ने योजना रहेको सचिव कार्कीले जानकारी दिए । उनले पालिका अधिवेशन निर्धारित समयभन्दा थोरै लम्बिएका कारण वडा अधिवेशन असार दोस्रो हप्तासम्म सम्पन्न हुने विश्वास व्यक्त गरे ।