चैत्र १३, २०८१ बुधबार

झापामा राष्ट्रिय परिचयपत्र विवरण संकलन दुई चरणमा

भद्रपुर । झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि विवरण सङ्कलनको काम दैनिक दुई चरणमा गर्न थालिएको छ । दैनिक बिहान ७ बजेदेखि विवरण सङ्कलन गर्ने गरिएको छ ।

कर्मचारीलाई बिहान र दिउँसो गरी दुई चरणमा काममा खटाई राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरण थालेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए । उनका अनुसार दैनिक तीन सयदेखि चार सयजनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

“दैनिक एक सयको हाराहारीमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम भइरहेको छ । बिहान ७ बजेदेखि नै टोकन वितरण गर्छौँ, सेवा प्रवाहमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई प्राथमीकतामा राखेका छौँ”, प्रजिअ बाँस्तोलाले भने ।

यसअघि जिल्ला प्रशासन कार्यालयले वडास्तरमा अभियानकै रुपमा बुद्धशान्ति गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, भद्रपुर नगरपालिका र अर्जुनधारा नगरपालिकामा ७३ हजार सात सय ८१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिसकेको छ । अहिले मेचीनगर नगरपालिकामा वडास्तरमै अभियानको रुपमा राष्ट्रिय परिचयपत्र वितरण भइरहेको प्रजिअ बाँस्तोलाले बताए ।

राष्ट्रिय परिचयपत्र वितरण गर्न बाँकी रहेका स्थानीय तहमा वितरण गर्ने तयारी भइरहेको जिल्ला प्रशासान कार्यालयले जनाएको छ । स्थानीय तहमा वितरण गर्दा फिर्ता आएका परिचयपत्र जिल्ला प्रशासन कार्यालयबाट वितरण भइरहेको छ ।

आगामी आर्थिक वर्ष २०८१र८२ देखि सामाजिक सुरक्षालगायत विभिन्न सरकारी सुविधा प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि देशभरका जिल्ला प्रशासन कार्यालमा सेवाग्राहीको चाप बढेको छ ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८१ बिहीबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]