चैत्र १३, २०८१ बुधबार

विद्यार्थी पलायनप्रति सरोकारवालाको चिन्ता

बिर्तामोड । स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको बढ्दो पलायनप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विद्यार्थीहरुलाई नेपालमै अढ्याउन सोही अनुसारको कार्यक्रमको आवश्यक भएको बताए ।

सोमवार इन्द्रचन्द्र क्याम्पस बिर्तामोडले आयोजना गरेको कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले विद्यार्थी पलायन रोक्नुपर्ने धारणा राखेका थिए । उनीहरुले विद्यार्थी पलायन रोक्न नसके शैक्षिक संस्थाहरु समेत नरहने बताए ।

क्याम्पसको वर्तमान अवस्था, शैक्षिक गुणस्तर सुधार र स्रोत व्यवस्थापनका लागि आयोजित सर्वपक्षीय भेलामा बोल्दै कोशी प्रदेशका मन्त्री एकराज कार्कीले विद्यार्थीहरु बाहिर जाने लहड चलेको बताए । उनले विद्यार्थीहरुलाई विदेश पलायन हुनबाट रोक्न जरुरी रहेको बताए । विद्यार्थीहरु विदेश गइरहने हो भने देश समृद्धि हुन सक्दैन, मन्त्री कार्कीले भने – ४ वर्षको कोर्ष सक्न ६ वर्ष लाग्छ । त्यसैले पनि विद्यार्थीहरु आफ्नो भविष्यको सुरक्षाका लागि पलायन भइरहेका छन् ।

मन्त्री कार्कीले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि परीक्षा सञ्चालन र नजिता प्रकाशनका लागि क्यालेण्डर निर्माण हुनुपर्ने बताए । अध्ययनपछि भविष्यको सुरक्षा नहुने, परिवारलाई आर्थिक बोझ मात्रै हुने भएपछि विद्यार्थीहरु टिक्न नसकेको उनको भनाई थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोड शिक्षा र स्वास्थ्यको हब भएको बताइन् । उनले क्याम्पस आसपासको क्षेत्रसम्म पूर्वाधार निर्माण गरेर सहज बनाएको बताइन् । उनले बिर्तामोडलाई शिक्षा र स्वास्थ्यको हब बनाउनका लागि स्थानीय सरकार प्रतिवद्ध ढंगले काम गरिरहेको बताइन् । उनले क्याम्पसको उन्नयन र प्रगतिका लागि आवश्यक सहयोग गर्दै जाने भनाई राखेकी थिइन् ।

क्याम्पसका पूर्व प्रमुख लेखनाथ भट्टराईले क्याम्पस निर्माणमा स्वर्गीय नेत्र पाठकको योगदान स्मरणीय रहेको बताए । उनका अनुसार नेत्र सरको योगदान भएकै कारण देवि मावि र क्याम्पस यहाँसम्म आएको हो । उनले पेशा रोज्ने समयमा विद्यार्थीहरु स्नातक तहमा अध्ययन गर्न आउने गरेको बताए । एउटा सर्टिफिकेटका लागि ६ वर्षसम्म पर्खनुपर्छ, भट्टराइले भने – ४ वर्षमा सकिने स्नातक तह ६ वर्ष लाग्छ । त्यसैले पनि विद्यार्थीहरु अढिन गाह्रो छ । उनले छात्रवृत्ति र क्याम्पलाई अनुदानको खाँचो भएको बताए । क्याम्पसलाई स्थानीय सरकारको तर्फबाट नियमित अनुदानको व्यवस्था हुनुपर्ने बताए ।

सोही अवसरमा पूर्व क्याम्पस प्रमुख भट्टराईले क्याम्पसको अक्षयकोषका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

यस्तै, नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले अक्षयकोषका लागि ५१ हजार १ सय ११ रुपैयाँ घोषणा गरेका छन् । सर्वपक्षीय भेलामा बोल्दै अध्यक्ष भट्टराईले क्याम्पसको विकासमा आवश्यक सहयोग गर्दै जाने बताए ।
अग्रसेन भवन बिर्तामोडका अध्यक्ष सुरेश कुमार अग्रवाल ‘भद्रपुरे’ ले इन्द्रचन्द्र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि अध्ययन गर्दै पढ्दै गर्नका लागि आवश्यक सहयोग गर्ने बताए । उनले विद्यार्थीहरुलाई प्रोत्साहन गरिने बताएका छन् ।

कार्यक्रममा क्याम्पसका प्रमुख प्रकाश दाहालले अवधारणा पत्र सार्वजनिक गरेका छन् । उनले क्याम्पसको वर्तमान अवस्था, भोग्नु परेका समस्याहरु, समाधानका उपायहरु, अवसरहरु, क्याम्पसका माग तथा अपेक्षाहरु अवधारणा पत्रमा सार्वजनिक गरेका छन् । करिव १६०० विद्यार्थी अध्ययनरत क्याम्पसमा पूर्वाधार लगायतका समस्याहरु विद्यमान रहेको बताए । उनले विद्यार्थी पलायन रोक्नका लागि प्राविधिक सहित अन्य विषयहरु थप हुनुपर्ने माग राखेका छन् ।

सो कार्यक्रममा अक्षयकोषका तीन जना दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]