Banner news

समृद्ध बिर्तामोडका लागि शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा, राती १० बजेसम्म बजार खुल्ला गर्ने

समृद्ध बिर्तामोडका लागि शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा, राती १० बजेसम्म बजार खुल्ला गर्ने


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राख्दै आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
दोस्रो नगर सभाको पाँचौं अधिवेशनबाट नगर प्रमुख पवित्रा महतारा प्रसाईले १८६ बुँदामा नीति कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

शैक्षिक संस्थाको भौतिक पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गरी प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिदैं जीवन उपयोगी शिक्षालाई प्राथमिकता दिने नीति कार्यक्रममा प्रस्तुत गरिएको छ । शिक्षा विकास कार्यक्रम अन्तर्गत प्रविधिमैत्री कक्षाकोठा निर्माण गर्दै पठनपाठनलाई प्राथमिकता दिने उल्लेख गरिएको छ । शिक्षामा विद्यार्थी भर्नामा प्रवेश परीक्षा बन्द गरेर स्थानीय विद्यार्थीलाई अध्ययनका वातावरण बनाउने बताइएको छ । सिकाई सुधार अभियान वर्ष २०८१ मा सुधार प्रतिवद्धता कार्यान्वयन, शिक्षण कौशल तथा सिकाई सुधारमा क्रियाशिल बनाउदै शिक्षक कर्मचारीको क्षमता विकासमा कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा उल्लेख छ ।

बिर्तामोड नगर अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा सञ्चालन गर्दै २४ घण्टे आकस्मिक सेवा सहित दक्ष जनशक्ति र प्रविधियुक्त सेवाको व्यवस्थालाई निरन्तरता दिदैं जाने नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रस्तुत गर्नुभएको कार्यक्रममा उल्लेख छ ।

बिर्तामोडका नीति तथा सरकारी अस्पतालहरुसँगको सहकार्यमा वडा वडामा स्वास्थ्य सेवा प्रदान गर्न शिविर सञ्चालन गर्ने, क्षयरोगमुक्त बनाउने अभियानलाई निरन्तरता दिने कार्यक्रम छ । अटिजम भएका बालबालिकाको खोजी तथा पहिचानको सुरुवात गर्ने नगर प्रमुखको भनाई छ ।

कृषि, पशुपन्क्षी तथा मस्त्यपालन विगतका कार्यक्रमहरुलाई निरन्तरता दिइएको कार्यक्रममा पशुपालन व्यवसायलाई सक्षम, मर्यादित, उत्पादनशिल र प्रविधिमय बनाई माछामासु र दूधमा आत्मनिर्भर बनाउदै लैजाने नीति कार्यक्रममा उल्लेख छ । मेयर पकेट प्याकेज कार्यक्रमलाई निरन्तरता दिदैं मापदण्ड विपरित पशुपालन गर्ने, अरुलाई असर गर्ने गरी पालन गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने भनिएको छ ।

सहकारीको बचत फिर्ता नगर्ने र कर्जा नतिर्ने संस्था, सदस्यलाई कानुन बमोजिम कारबाही गर्ने , ऋण परिचान गर्दा उत्पादनमुखी, रोजगारी सिर्जना गर्ने, गरिवी न्यूनिकरण तर्फ उच्च प्राथमिकता दिन प्रोत्साहन गर्ने कार्यक्रममा उल्लेख छ ।

पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको संरक्षण र संवद्र्धन गर्दै धार्मिक विद्यालयहरुलाई धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा विकास गरिने जनाइएको छ । कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा पूर्ण रुपमा सञ्चालनमा ल्याई फोहोरमैलाको व्यवस्थापन गरिने नगर प्रमुखले प्रस्तुत गरेको कार्यक्रममा उल्लेख छ ।

उद्योग, व्यापार व्यवसाय, श्रम तथा रोजगार तर्फ बिर्तामोड नगरपालिकाले बिर्तामोडलाई पूर्व नेपालकै आकर्षक र व्यापारिक केन्द्रको रुपमा विकास गर्ने कार्यदिशालाई अवलम्बन गर्ने, लघुउद्यम विकासका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्यक्रममा प्रस्तुत गरिएको छ । रात्रीकालिन व्यापार व्यवसायलाई राती १० बजेसम्म सञ्चालनको वातावरण मिलाइने बताइएको छ ।

समृद्ध नगरका लागि आवद्यिक योजनाको कार्यान्वयन गर्दै नगर सडक गुरुयोजनामा भएको सडकहरुको वर्गीकरणका आधारमा कालोपत्रे गर्दै जाने नीति कार्यक्रममा उल्लेख छ । अति विपन्न नागरिकका लागि आवास निर्माणलाई निरन्तरता दिने कार्यक्रममा एक घर, एक धारा अभियान मार्फत नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराईने छ ।

डोमालाल रंगशाला निर्माणलाई डीपीआर बमोजिम निर्माणका लागि प्रदेश र संघसँग आवश्यक बजेट माग गरि काम अघि बढाइने कार्यक्रम छ । सार्वजनिक स्थल र सडकहरुमा समेत सीसी क्यामेरा जडान गर्दै सुरक्षालाई थप मजवुद बनाइने बताइएको छ ।

जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुसँगको साझेदारीमा लागुपदार्थ बेचविखन ओसारपसार कार्यलाई नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने कार्यक्रम प्रस्तुत गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares