बिर्तामोड

झापामा प्रभावकारी बन्यो प्रेस काउन्सिलको एड्भान्स तालिम

झापामा प्रभावकारी बन्यो प्रेस काउन्सिलको एड्भान्स तालिम


बिर्तामोड । प्रेस काउन्सिल नेपालले झापाको बिर्तामोडमा सञ्चालन गरेको दुई दिवसीय एड्भान्स पत्रकारिता तालिम प्रभावकारी भएको छ । पत्रकारितामा नयाँ प्रविधिको प्रयोगका विषयमा काउन्सिलले कोशी प्रदेशका पत्रकारहरुलाई सहजीकरण गरेको हो । जसको संयोजन नारी सञ्चार गृह झापाले गरेको थियो ।

शनिवार र आइतवार सञ्चालन गरिएको तालिम पश्चात पत्रकारहरुले काममा फर्किन काउन्सिलको दुई दिने प्रशिक्षणले थप उर्जा प्रदान गरेको प्रतिक्रिया दिएका छन् । पुरानैशैलीबाट पत्रकारिता गर्दा पेशा नै संकटमा परेको सहभागीहरुको धारणा थियो । काउन्सिलको प्रशिक्षणले अबको पत्रकारितामा नयाँ परिवर्तन ल्याउन सकिने भयो, सहभागी पत्रकार सुनिरा मैनालीले भनिन् – एआई सम्बन्धी प्रशिक्षणले काममा धेरै सहजता मिल्ने भएको छ ।

पत्रकारितामा नवीनतम् प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भनेर पत्रकारहरुलाई प्रशिक्षण प्रदान गरिएको कार्यक्रममा प्रेस इन्स्टिच्यूटका प्रशिक्षक लिला भट्टराईले कृत्रिम पत्रकारितामा बौद्धिकता (एआई) को प्रयोग र नसना बज्राचार्यले मल्टिमिडियाका लागि फोटो र भिडियो खिच्ने तरिकाका बारेमा पहिलो दिन सहजीकरण गरेका थिए । उक्त प्रशिक्षणपछि पत्रकारहरुले यस प्रकारको तालिम पहिलो पटक पाएको भन्दै अब समाचार कक्षमा जाँदा सिकेका सीपलाई भरपूर प्रयोग गर्ने बताएका थिए ।

दोस्रो दिन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता र नेतृत्व विकास, युट्युवसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव विषयक प्रशिक्षण प्रदान गरेका थिए । उनको प्रशिक्षण दिदैं पत्रकारिता गर्ने पत्रकारहरुले समाजकै नेतृत्व गर्न सक्ने बताए ।

युट्युवलाई सञ्चार माध्यम, मिडिया बनाउनका लागि सोही अनुसारको सामग्री निर्माण र दर्ता प्रक्रियामा अभिलेख हुनुपर्ने बताए हुन् । सबै युट्युवलाई मिडियाको रुपमा बुझ्न हुदैन, उनले भने – युट्युवलाई तीन प्रकारमा वर्गीकृत गरिएको छ । पहिलो काउन्सिलमा दर्तावालहरु, दोस्रो कम्पनीमा मात्रै दर्ता भएकाहरु र तेस्रो व्यक्तिगत प्रयोजनका युट्युवहरु हुन् ।

दुई दिनको कार्यक्रममा सहभागी पत्रकार रमेश तिवारीले काउन्सिलले झापामा पत्रकारका लागि अत्यावश्यक विषयमा सहजीकरण गरेको जानकारी दिए । उनले एड्भान्स तालिहरु पत्रकारले पाउन नसकिरहेको बेला काउन्सिलले आयोजना गरेर पूर्वका पत्रकारहरुलाई ठुलो सहयोग पुगेको बताए ।

काउन्सिलका सदस्य पोखरेलको अध्यक्षता र नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले सञ्चालन गरेको प्रशिक्षणमा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष माधव विद्रोही, कृष्ण हुमागाई, मोहनकाजी न्यौपाने, नारी सञ्चार गृहमा आवद्ध सदस्यहरु समेतको उल्लेख्य सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares