साबित्रा दाहाल
झापा । लागूऔषध कारोबार तथा नियन्त्रण सम्बन्धमा सुरक्षा निकाय, प्रदेश, स्थानीय तह र सरोकारवाला बीच जिल्लास्तरीय छलफल भएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय झापामा छलफल सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आफूले सम्बन्धित क्षेत्रमा क्रियाशील संघसंस्था र सरोकारवालासँग गरेको अपेक्षाको बारेमा जानकारी गराउँदै सरकारी, सहकारी र निजी क्षेत्रबाट सञ्चालित हरेक सघं, संस्था, निकायले लागू पदार्थ बिरुद्ध आ.ब. ०८२-८३ मा गर्ने केही न केही कार्यक्रमको कार्य योजना बनाएर भाद्र महिनाभित्र जिल्ला प्रशासन कार्यालयमा पठाईदिन आव्हान गर्दै प्राप्त कार्यक्रमहरूलाई समेटेर एकीकृत योजना बनाई कार्यान्वयन गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रजिअ अधिकारीले झापामा लागू औषधको कारोबार र प्रयोगको अवस्था अत्यन्तै गम्भीर भएकोले आफ्नो सञ्जाल मार्फत विभिन्न कार्यक्रम गरेर यसलाई न्यूनीकरण गर्न तर्फ संवेदनशील बन्न सबै सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईले आफ्नो प्रस्तुति राख्दै झापा जिल्लामा लागूऔषध नियन्त्रणमा सबैको एकीकृत प्रयास गर्ने र यसकोे लागि सबै संस्थाले आफ्नो कार्ययोजना बनाउनुपर्ने बताउनुभयो । उक्त कार्ययोजनामा समेट्नुपर्ने विषयको जानकारी गराउदै यसलाई सघन कार्यक्रमका रूपमा बढाउने अभिप्रायले कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा झापामा लागूऔषधको अवस्था बारेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रविण श्रेष्ठले जानकारी गराउदै पहिलो पटक प्रयोगकर्ताहरूको उमेर समूहको आधारमा ८१.३% बालबालिका १९ बर्षभित्रका रहेको तथ्यांक जानकारी गराउनुभयो ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, विभिन्न सहकारी संस्था, निजी तथा सामुदायिक विद्यालयका प्रतिनिधि, यातायात व्यवसायी संघ, होेटल व्यवसायी सघं, रोटरी क्लव लगायतका सामाजिक संघ संगठन,पुनःस्थापन केन्द्रका प्रमुखहरू लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरूले आफूहरूले लागू औषधको क्षेत्रमा गर्दै गरेको अभ्यासको बारेमा जानकारी गराउँदै जिल्ला प्रशासन कार्यालयबाट प्राप्त निर्देशन अनुसार आफूहरुले कार्य योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालयका अधिकृत मोहन पनेरुले गर्नुभएको थियो भने विषय प्रवेश कार्यक्रमको अध्यक्षता समेत गर्नुहुने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले गराउनुभएको थियो ।







प्रतिक्रिया