मुख्य समाचार

फोहोरमैला व्यवस्थापन गर्न सहकार्य

फोहोरमैला व्यवस्थापन गर्न सहकार्य


विराटनगर, १४ भदौः कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले फोहोरमैला व्यवस्थापनका लागि अब अत्याधुनिक प्रविधिको प्रयोग हुने जानकारी दिनुभएको छ ।
शुक्रबार मोरङ र इलामका ६ स्थानीयतहसँग मन्त्रालयले गरेको रणनीतिक साझेदारी सम्झौता कार्यक्रममा उहाँले फोहोर व्यवस्थापनलाई आधुनिक प्रविधिसहित दीर्घकालीन समाधानतर्फ अघि बढाइने जानकारी दिनुभयो । मन्त्री राईले भन्नुभयो, “प्रदेश सरकार केवल अनुदान दिने मात्र होइन, व्यवस्थापनलाई टेवा पुग्ने प्रविधि र उपकरण पनि उपलब्ध गराउँछ ।”
उहाँले यो रणनीतिक साझेदारी सम्झौता नेपालको लागि नौलो र नमूना कार्यक्रम रहेको बताउदै जवसम्म प्रत्येक गाउँ र नगरपालिका स्वस्थ्य र सम्मुनत बन्दैन तबसम्म प्रदेश सम्मुनत नहुने भएकाले सबैलाई अत्यन्त प्रतिबद्ध भएर काम गर्न आग्रहसमेत गर्नुभयो ।
सो अवसरमा भौतिक पूर्वाधार राज्यमन्त्री भूमीप्रसाद राजवंशीको उपस्थिति रहेको थियो । सम्झौतामा मोरङका रङ्गेली,सुनवर्षी, रङ्गेली नगरपालिका सहित धनपालथान र कानेपोखरी गाउँपालिका तथा इलामका सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्नुभएको हो ।
रणनीतिक साझेदारी कार्यक्रममा रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडिया ९अग्रवाल०ले सम्झौताअनुसार फोहोरमैला व्यवस्थापनमा खर्च हुने कूल रकमको ५० प्रतिशत मन्त्रालयले व्यहोर्ने बताउनुभयो । उहाँका अनुसार १२ करोड रुपैयाँ बराबरको योजना अघि बढाउने स्थानीय तहले बढीमा पाँच करोड रुपैयाँसम्म, र आठ करोड रुपैयाँसम्मको योजना अघि बढाउनेले चार करोड रुपैयाँसम्मको सहयोग पाउने व्यवस्था मिलाइएको छ ।
प्रदेश सरकारसँग सहकार्यमा सुरु गरिएको यो रणनीतिक साझेदारी नेपालकै पहिलो प्रयास भएको बताइएको छ । साझेदारीपछि फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित, दिगो र प्रविधिमुखी बनाउन सहयोग पुग्ने प्रदेश सरकारको विश्वास छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार यस सम्झौताबाट प्रदेश र स्थानीय तहबीच सहकार्यमा दिगो फोहोरमैला व्यवस्थापन कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको छ । सम्झौतापत्रमा वातावरणमैत्री प्रविधिको प्रयोग, स्रोतमै फोहोर छटाई, पुनःप्रयोग र प्रशोधन प्रवद्र्धन गर्ने विषयमा प्रदेश र स्थानीय तह सहमत भएका छन । यसले दीर्घकालीन रूपमा नगर तथा गाउँपालिकामा देखिँदै आएको फोहोर व्यवस्थापनको समस्या समाधान हुने विश्वास गरिएको छ ।
कार्यक्रममा प्रदेशका जनप्रतिनिधि, नगरप्रमुख, गाउँपालिका अध्यक्ष तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

27
Shares