झापा । अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीको आयोजनामा पहिलो अखिल डिजिटल मेचीनगर हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । धुलाबारी माविमा आयोजित प्रतियोगितामा २२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सहिद दशरथ माविले प्रथम स्थान हासिल गर्दै नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, द्वितीय स्थानमा इष्ट होराइजन माविले ७ हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरेको छ । तृतीय भएको बाल सुबोधनी माविले ५ हजार रुपैयाँसहितको पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिता लिखित चरणमार्फत छनोट भई ८ विद्यालय सेमिफाइनलमा पुगेका थिए । दुई सेमिफाइनलबाट पहिलो र दोस्रो हुने विद्यालयहरूले फाइनलमा प्रवेश गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय उपमहासचिव कमल जोशी रहेका थिए । जोशीले सम्बोधनमा युवाहरुलाई ज्ञान, सीप र प्रविधिमा सशक्त बनाउन अनेरास्ववियु निरन्तर अगाडि बढिरहेको बताउँदै मेचीनगरमा गरिएको यो डिजिटल प्रयास देशभरका विद्यार्थी संगठनका लागि प्रेरणादायी हुने टिप्पणी गर्नुभयो । उहाँले प्रतियोगिताले विद्यार्थीमा शैक्षिक चेतना मात्र नभई संगठनात्मक प्रतिबद्धता र नेतृत्व क्षमताको विकासमा पनि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) मेचीनगर नगर कमिटी अध्यक्ष राजु कार्कीले शुभकामना मन्तव्य दिँदै विद्यार्थीहरूको सिर्जनशीलता र प्रतियोगितामा देखिएको उत्साहले भविष्यमा शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउने टिप्पणी गर्नुभयो । उहाँले अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीले नियमित रूपमा यस्ता शैक्षिक–सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएकोमा धन्यवादसमेत दिनुभयो ।
कार्यक्रममा नेकपा (एमाले), युवा संघ नेपाल र अनेरास्ववियुका विभिन्न तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । करिब ३०० विद्यार्थीहरूको सहभागिता रहेको सो कार्यक्रमको अध्यक्षता त्रिदेव क्याम्पस अध्यक्ष कैलाश रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपाल बुढाथोकीले नविन प्रविधिमा आधारित कार्यक्रमको सराहना गर्दै आयोजकलाई धन्यवाद दिनुभयो । साथै प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सहसचिव रोश्नी मेचे विशेष उपस्थित रहनुभएको थियो ।
कार्यक्रम सञ्चालन क्याम्पस कमिटी सचिव मनिषा सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष ईश्वर रिजालले प्रस्तुत गर्नुभएको थियो । हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन उत्सव भट्टराईले गर्नुभएको हो ।







प्रतिक्रिया