बिर्तामोड । भद्रपुर नगरपालिका वडा नं. ३ को वडा सदस्य पुर्णमाया सुब्बाले कार्यवाहक वडाध्यक्ष र कर्मचारीहरुमाथि कुटपिट गरेको घटनामा नेपाल निजामति कर्मचारी संगठन झापाले घोर निन्दा एवम् भत्सर्ना गरेको छ ।
आज दिउँसो २ बजे भद्रपुर नगरपालिका वडा नं. ३ को कार्यालयमा अगाडि रहेको खाजा पसलमा खाजा खाइरहेको बेला कार्यवाहक वडाध्यक्ष भुवमाया थापा पुलामीमाथि वडा सदस्य सुब्बाले हातपात गरेको विज्ञप्तिमा जनाइएको छ ।
कार्यवाहकमाथि हातपात गर्न थालेपछि रोक्न गएका कर्मचारीहरू मनिका बेगा, प्रमिला थुलुङ र गंगा बरालमाथि पनि सांघातिक आक्रमण गरेर कुटपिट गरेको घटनाप्रति नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति झापाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, जनताको सेवा गर्ने जनप्रतिनिधिहरू जस्तो गरिमामय पदमा आसिन व्यक्तिहरू बीचमा भएको कुटपिटमा आफ्नो कर्तव्य सम्झेर मध्यस्थताका लागि जाने कर्मचारीहरूमाथि नै निर्वाचित जनप्रतिनिधिबाट भएको यस प्रकारको भौतिक आक्रमण निन्दनीय एवं आपत्तिजनक छ । यस घृणित कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछौं ।
संगठनले आक्रमणमा परेर घाइते कार्यवाहक वडाध्यक्ष र कर्मचारीहको आवश्यक उचित उपचार तथा जिउ धनको सुरक्षा र मनोवैज्ञानिक डर त्रासको उचित व्यवस्थापन गरी आक्रमण, गालिगलौज तथा कुटपिटमा संलग्न जो कोहिलाई हदैसम्मको कानुनी कारवाहीका लागि सरोकारवाला निकायरूमा जोडदार माग गरेको छ । घटनालाई सामान्य रूपमा लिएर गुण्डागर्दी र अराजकता मच्चाउनेलाई उन्मुक्ति दिने कार्य भएमा सशक्त प्रतिवाद गर्ने संगठनले चेतावनी दिइएको छ । 







प्रतिक्रिया