बिर्तामोड । अनेरास्ववियु कोशी प्रदेशको अनलाइन डिजिटल वक्तृत्वकला प्रतियोगितामा ९९ जना विद्यार्थी सहभागी भएका छन् । कोशी प्रदेशका १४ जिल्लाबाट विद्यार्थीहरु सहभागी भएका हुन् । वक्तृत्वकलामा अहिलेसम्मकै धेरै विद्यार्थी सहभागी भएको अनेरास्ववियुले दावी गरेको छ ।
‘लागुऔषध मुक्त समाज, हाम्रो अभियान’ विषय अनलाईन डिजिटल वक्तृत्वकलामा कक्षा ६ देखि स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागिता जनाएको कोशी प्रदेश संयोजक नारायण पोखरेलले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुले पठाएको भिडियो अनेरास्ववियु कोशी प्रदेशको पेजबाट सार्वजनिक गरिएको छ । भदौं ५–१० गतेसम्म विद्यार्थीले पठाएको भिडियो १२–१४ गतेभित्र पेजमा पोष्ट गरिएको पोखरेलको भनाई छ ।

अनेरास्ववियु कोशी संयोजक पोखरेलका अनुसार १२ गतेदेखि २० गतेसम्म सामाजिक सञ्जालमा आएको लाइक, शेयर र भ्यूजलाई पनि मुल्याङकनको आधार बनाइने छ । ७० प्रतिशत विषयको उठान, प्रस्तुति र ३० प्रतिशत सामाजिक सञ्जालको आधारमा मुल्याङकन गरिने बताइएको छ ।
भदौं २८ गते विजेताहरुलाई पुरस्कार वितरण तथा सहभागी विद्यार्थीहरुलाई सम्मान गरिने जनाइएको छ । वक्तृत्वकलामा प्रथम हुनेलाई २० हजार, दोस्रो १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । सान्तवना पुरस्कार ५ हजार रुपैयाँ रहेको छ । सहभागी सबैलाई प्रमाणपत्र, मायाको चिनो प्रदान गरिने अनेरास्ववियु कोशी प्रदेशले जनाएको छ ।
सो कार्यक्रममा अनेरास्ववियुमा निर्वाचितहरुलाई बधाई ज्ञापन र कमिटीबाट विदा भएकाहरुलाई विदाई गर्ने कार्यक्रम रहेको संयोजक पोखरेलले जानकारी दिए ।







प्रतिक्रिया