Banner news

पत्र अध्ययन गरेर सुझाव दिन विद्याको अनुरोध

पत्र अध्ययन गरेर सुझाव दिन विद्याको अनुरोध


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी छिन् ।

शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान अधिवेशनमा सहभागी हुन बञ्चित भएपछि उनले पत्रमार्फत शुभकामना सन्देश पठाएकी थिइन् । उनले आज भने न्युज एजेन्सीमार्फत एक भिडिओ सन्देश जारी गर्दै एमाले र आफ्नो उद्देश्य एउटै भएकाले सधैँ सँगै रहने बताएकी छिन् ।

यस्तो छ भण्डारीको सन्देश :

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा उपत्यकामा उपस्थित हुनुभएका देशभरका सम्पूर्ण महाधिवेशन प्रतिनिधि कमरेडहरूलाई उपत्यकामा स्वागत गर्न पाउँदा खुसी लागेको छ । यहाँहरूको काठमाडौं बसाइ सरल र सुखद रहोस् । जुन उद्देश्यले यहाँहरू काठमाडौं आउनुभएको छ, यहाँहरूको कार्य सफल रहोस् । म पनि लामो समयसम्म यहाँहरूसँग सँगसँगै रहेँ । तर, बीचमा पार्टीले मलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएर पठाएको हुनाले राष्ट्रिय जिम्मेवारीमा रहेँ । त्यतिबेला हाम्रो भेटघाटहरू कम भएको हुनसक्छ । तथापि हाम्रो उद्देश्य एउटै हो । हामी सधैँ सँगै नै छौं । यहाँहरूलाई मैले प्रत्यक्ष भेटघाट गर्न नपाए पनि मैले भेटेसरह नै मानेको छु ।

मैले यहाँहरूलाई हिजोमात्रै पत्रमार्फत आफ्ना विचार राखेको छु । यहाँहरूले अध्ययन गर्नुभएकै होला । यहाँहरूको उपयुक्त सल्लाह, सुझाव पनि अपेक्षा गरेको छु,’ भण्डारीले थप भनेकी छिन्, ‘नेकपा एमालेको काँधमा देशको ठूलो जिम्मेवारी छ । त्यो पूरा गर्न यहाँहरू भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्नुस् । म पनि सधैँ यहाँहरूकै साथमा हुनेछु । धन्यवाद ।

शेयर गर्नुहोस :

0
Shares