काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य हरदेव जोशीले नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावको समर्थन गर्नुभएको छ।
उहाँले उक्त प्रस्तावको समर्थन गर्दै केपी शर्मा ओलीले राष्ट्रहितका पक्षमा, स्वाभिमानको पक्षमा दृढ अडान लिएको बापत नेकपा (एमाले) र मुल नेतृत्वमाथि देशीविदेशी प्रतिक्रियावादीहरूको आक्रमण भएको बताउनुभयो।

बैठकमा बाेल्दै उहाँले भन्नुभयाे , ‘प्रधानमन्त्री पद उहाँका लागि केहि पनि होइन, मृत्युसँग लडेर भारतले मिचेको भूमि कलापानी, लिपुलेक, लिम्पियाधुरा – चुच्चे नक्सा सार्वभौम संसदबाट पास गरेपछि (एमाले) र मुल नेतृत्वमाथि प्रहार भएकाे छ। यस्ता खालका षड्यन्त्रका विरुद्ध अहिलेको सङ्कटपूर्ण घडीमा एकताबद्ध भएर भण्डाफोर गर्नु हामी सबैको दायित्व हो। तसर्थ अहिलेको आवश्यकता एकताबद्ध, अनुशासित र वैचारिक (एमाले) हो।’
केन्द्रीय कमिटीको बैठकमा बोल्दै उहाँले भन्नुभयाे , ‘सामाजिक संजालमा पार्टी अध्यक्षका विरुद्ध लेख्ने, बोल्ने काम पार्टी अनुशासन र लेनिनवादी संगठनात्मक सिद्धान्त भित्र पर्दैन। त्यस कारण आफ्नो पदीय जिम्मेवारी अनुसार केन्द्रीय कमिटीमा आफ्ना धारणा राख्नु पर्छ। सामाजिक संजालमा जथाभावी लेख्नु नेताहरूका कारण समाज र पार्टीमा विभाजन ल्याउने काम गरेको छ! यस्ता खालका प्रवृत्तिहरूलाई तुरुन्त बन्द गर्नुपर्छ।’
उहाँले संविधानको रक्षा गर्नका लागि संसद पुनः बहाली अनिवार्य रहेको बताउनुभयो। त्यसकारण सबै लोकतान्त्रिक गणतन्त्र शक्तिहरूलाई एकजुट गर्न पहल नेकपा (एमाले) ले गर्नुपर्छ। र संसद पुनः स्थापनाका लागि (एमाले) देशव्यापी आन्दोलनमा जानुपर्छ, भन्नुभयो।
त्यसैगरी उहाँले बैठकमा भन्नुभयाे , ‘भाद्र २३, २४, मा जेन्जीको नाममा भएको विध्वंस, अराजनीतिक र समाजमा आतंक फैलाउने जुन घटना घटाइयो, यो निकै दुखद छ। जेन्जी भाइबहिनीका माग राम्रा थिए, जुन (एमाले) र त्यसबेला सरकार उहाँहरूको माग पूरा गर्न तयार थियो र आज पनि छ! आगामी दिनमा यस्ता खालका धोखाधडी हुने कुरामा सबै सचेत हुनु पर्छ।’
कार्यक्रममा बोल्दै उहाँले अन्तिममा भन्नुभयो, ‘भदौ २०–२२ गतेको संविधान महाधिवेशनले गरेका निर्णय कार्यान्वयन गर्दै मुल नेतृत्वको रक्षा गर्दै, समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्न एकताबद्ध ११ महाधिवेशन र समकालीन राजनीति मा केपी ओलीको विकल्प केवल केपी ओली नै हुन्।’







प्रतिक्रिया