धरान । धरानमा मानवसेवाआश्रमको २७औं सेवाकेन्द्र सञ्चालनमा आएको छ । हिजो रात्रिकालिन सडकसेवा आयोजना गरि धरानका विभिन्न सडकपेटी र सार्वजनिक स्थलहरुबाट उद्धार भएका ९ जना र यसअघिका दिनमा धरानबाट उद्धार विराटनगर शाखामाआश्रय लिइरहेका मध्ये १८ जनालाई आज एक औपचारीक कार्यक्रमका वीच धरान उपमहानगरपालिका वार्ड-१६ सनमार्ग स्थित भाडाको घरमा सञ्चालनमा ल्याईएको २७औं सेवाकेन्द्रमा गृहप्रवेश गराइएको हो ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्क स्याम्पाङ, धरान उपमहानगरपालिका १६ वडाका वडा अध्यक्ष मुरारी भट्टराइ, १ नं. वडाका वडाअध्यक्ष यज्ञमणि आचार्य, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि,पत्रकार महासंघका अध्यक्ष सन्तोष काफ्ले, लायन्स, रोटरी एवं विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थितिकावीच आज सहयोगापेक्षीहरुको गृहप्रवेश कार्यक्रम आयोजना गरिएको थियो ।
यसअघि विभिन्न समयमा धरानबाट १४१ जना पुरुषर १२ जना महिला गरी १५३ सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई उद्धार गरी मानवसेवा आश्रम विराटनगर लगायत अन्य शाखाहरुमा लगिएको राखि सेवा प्रदान गरीएको थियो ।
धरानमै मानवसेवाआश्रमको शाखाविस्तार भइसकेपछि भने अब ताप्लेजुङ, ओखलढङ्गाु, पाँचथर, सोलुखुम्बु र सुनसरी जिल्लाका सहयोगापेक्षीहरुलाई धरान सेवा केन्द्रबाट सेवा दिइने संस्थाका कोषाध्यक्ष होमनाथ तिमल्सिनाले जानकारी दिनुभयो ।
मानवसेवाआश्रमले देशभर सात प्रदेशका विभिन्न २१ जिल्काका २७ओटा सेवाकेन्द्र सञ्चालनमा ल्याई ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं सम्भव भएकाहरुको पारिवारीक पुनर्मिलन गराउँदै आइरहेको छ । हाल मानवसेवा आश्रमको देशभर रहेका २७ सेवा केन्द्रमा २००४ जनाआश्रित छन् भने हालसम्म १२२४९ जनाको उद्धार गरिसकेको छ ।







प्रतिक्रिया