काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब टोलटोलमा टोल सुरक्षा समिति बनाएर अघि बढ्नु पर्ने बताउनुभएको छ । देशैभरी असुरक्षा बढेकोले प्रहरीलाई सघाउन टोल सुरक्षा समिति आवश्यक रहेको ओलीले बताउनुभयो ।
नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले अहिले मानिसहरूभित्र कायरता जगाए र राज्यलाई कमजोर बनाई राज गर्ने प्रयत्न भएको बताउनुभयो । यस्तो अवस्थामा जनताले आफ्नो सुरक्षा आफैले गर्नुपर्ने अवस्था आएको ओलीले बताउनुभयो ।

सरकारले समातेका अपराधिलाई छाड भन्ने अनि राजनीतिक नेताहरूलाई गिरफ्तार गर भन्ने गरेको ओलीले सुनाउनुभयो । ‘यस्तो अवस्थामा जनताले आफ्नो सुरक्षा आफैले गर्नुप¥यो, टोलटोलमा सुरक्षा समिति बनाउनै प¥यो’, उहाँले भन्नुभयो ।
ओलीले पार्टीका नेता कार्यकर्तालाई सत्यको अगाडि नझुक्न आग्रह गर्नुभयो । ‘सत्य कुरा डटेर बोल्नुस्, बोल्न पाइन्छ, वाक स्वतन्त्रता हाम्रो नैसर्गिक अधिकार हो, बोल्ने गर्नुस्, अपराधीहरूले मनपरी बोल्न पाउने हामीले जायज कुरा बोल्न नपाउने भन्ने हुँदैन, साथीहरू बोल्ने गर्नुस्’, ओलीले भन्नुभयो ।
ओलीले तिहारमा औँसीको अँध्यारो रातलाई उज्यालोले चिर्न बत्ती बालिने बताउँदै अहिले देशमा छाएको अँध्यारोलाई पनि उज्यालो बालेर चिर्नुपर्ने बताउनुभयो । ‘अहिले देशमा औँसीको अँध्यारो छाएको छ, यो स्याहा सरकार हो, यो स्याहा सरकारका विरुद्ध हामीले उज्यालो बाल्नै पर्दछ, ज्योति बाल्नै पर्दछ, उज्यालो बाल्नै पर्दछ’, ओलीले भन्नुभयो ।
ओलीले अहिले देशमा चुनावका स्थिति नभएको पनि बताउनुभयो । त्यसैले एमालेले विघटित संसद्को पुर्नस्थापनाको माग उठाएको बताउनुभयो । जेलबाट भागेका अपराधी र लुटिएका हतियार फिर्ता नभएसम्म चुनाव हुन नसक्ने उहाँको भनाइ छ । ‘कि सम्झौता छ अपराधीहरूसँग तपाईँहरूको, आफूहरूलाई सहयोग गर्ने भन्ने’, उहाँले भन्नुभयो ।







प्रतिक्रिया