मुख्य समाचार

रजत महोत्सवमा ब्रह्मकुमारी राजयोगले तपस्याधामको उद्घाटन गर्ने

रजत महोत्सवमा ब्रह्मकुमारी राजयोगले तपस्याधामको उद्घाटन गर्ने


धुलावारी । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, धुलावारीले स्थापनाको २५ वर्ष (रजत महोत्सव) को अवसरमा विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ । रजत महोत्सव मनाउँदै गर्दा केन्द्रले महत्वका साथ निर्माण गरेको तपस्याधामको समेत उद्घाटन गरिने भएको छ ।

योग, ध्यान, प्रवचनका माध्यमबाट मानवीय सेवामा संलग्न ब्रम्हकुमारी राजयोग धुलावारीले रजत महोत्सवको अवसरमा थप मानवीय सेवा तथा अन्य संरचनागत कार्यक्रमसहित विभिन्न कार्यक्रमको तय गरेको छ ।

महोत्सवको मुख्य आकर्षणका रूपमा आगामी शनिबार केन्द्रको परिसरमा नवनिर्मित चारधाम (तपस्याधाम), बुद्धशान्तिमा राजयोग पाठशाला आनन्द भवनको उद्घाटन, शान्ति पदयात्रा, सन्त समाज र समाजसेवीहरुको सम्मान तथा विभिन्न संघ संस्था, तीनदिने राजयोग मेडिटेशन शिविर, जीवन जिउने कला तथा महिलालाई सम्मान लगायतका कार्यक्रम राखिएको बताइएको छ । नारी शक्तिहरुलाई सम्मान गर्ने लगायतका कार्यक्रम तय गरिएको छ ।

रजत महोत्सव अन्तरगत सञ्चालन गरिने कार्यक्रमबारे तपस्याधाम परिषरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । सप्ताहव्यापी कार्यक्रम अनुसार सेवा केन्द्रले फागुन ५ गते रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ । कार्यक्रम अनुसार ७ गते पत्रकार सम्मेलन, ८ गते बुद्धशान्ति राजयोग पाठशाला उद्घाटन, ९ गते शान्ति पदयात्रा, रजत जयन्ती र तपस्याधाम उद्घाटन, १० गते सन्त समाज र समाजसेवीहरुको सम्मान, गीताका सार, जीवनको आधारबारे जानकारी, तीनदिने राजयोग मेडिटेसन शिविर प्रारम्भ, ११ गते संघसंस्थाहरुलाई सम्मान, १२ गते नारी सम्मान तथा जीवन जीउने कलाबारे जानकारी गराइने छ ।

ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालय माउण्ट आबू राजस्थानकी अन्तराष्ट्रि य ख्याति प्राप्त उत्प्रेरक वक्ता उषा दिदी, ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राज दिदी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । राजयोग मेडिटेसनको फाइदा लिन आयोजकले सबैलाई आग्रह पनि गरेको छ ।

ब्रम्हाकुमारी राजयोग कोशीकी प्रमुख गीता दिदीको समुपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा पत्रकारले राखेका जिज्ञासाबारे बृज पाठकले जानकारी दिएका दिए । सो अवसरमा धुलावारी सेवा केन्द्रकी सञ्चालिका अनिसा, ब्रम्हकुमारी राजयोग समाजसेवा प्रभाग माउण्ट आबुका बिरेन्द्र भाई जी, बालु भाइजी, तुलसीराम उप्रेती लगायतको उपस्थिति थियो ।

स्व सावित्री भण्डारीको सम्मानमा उहाँका छोरा विश्वप्रकाश शर्मा परिवारले सेवा केन्द्रलाई तपस्याधाम निर्माणका लागि मेचीनगर ९ स्थित लिलाबस्तीमा ५ कठ्ठा जमिन प्रदान गरेसंगै सो स्थानमा तपस्या धाम निर्माण गरिएको हो । नवनिर्मित तपस्याधाममा विशेष किसिमको अध्ययन, अनुसन्धान तथा तपस्यादेखि नियमित योगध्यान गर्ने कक्ष, आध्यात्मिक ज्ञान, गोष्ठी, सेमिनार हल, चारधाम ज्योतिर्लिङ, ८० जनासम्म क्षमता भएको भोजनालय, आवास लगायतका लागि सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरिएको बताइएको छ ।

शेयर गर्नुहोस :

108
Shares