बैशाख ७, २०८१ शुक्रबार

झापाका नेकपा नेता संलग्न जग्गा काण्ड ढिसमिस भएकै हो ?

विर्तामोड । जग्गा हत्याउन संलग्न नेकपा झापाका नेता खगेन्द्र पराजुली बारे पार्टीले कुनै धारणा सार्वजनिक गर्न सकेको छैन । उनले विर्तामोड १० मा रहेको २९ कठ्ठा १६ धुर जग्गा हत्याउन नक्कली कागजात तयार गरेको सार्वजनिक भइसक्दा पनि पार्टीले कुनै एक्सन नलिई ढिसमिस गर्न खोजेको बुझिएको छ । घटना भएको एक महिना वितिसक्दा पनि नेकपा झापा चुपचाप बस्दा घटना थप रहस्यमय बन्दै गएको चर्चा शुरु भएको छ ।

घटना सार्वजनिक भए लगत्तै पराजुलीले आफुलाई सहकर्मीले फसाएको अभिव्यक्ति दिँदै हिडेका छन् । उनले आफु सो घटनामा दोषी नरहेको बताउँदै आएका छन् । बिर्तामोड नगरपालिका वडा नं. १० मा बसोवास गर्ने दलित परिवारको २९ कठ्ठा १६ धुर ( करिव १ करोड मुल्यको ) जग्गा हत्याउने प्रयास भएको प्राप्त कागजातमा देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) झापाका जिल्ला कमिटी सदस्य समेत रहेका भद्रपुर – ९ निवासी ३७ वर्षीय खगेन्द्र पराजुलीले सो जग्गा खरिदमा झापा बाह्रदशी–५ घर भई हाल काठामाडौं गोकर्णेश्वर –२ बस्दै आएका ४९ वर्षीय भेषराज थपलियाले किर्ते कागज बनाएर आफुलाई फसाउन खोजेको दावी गर्दै आएका छन् । तर, पराजुलीले भने अनुसार कागजात त्यस्तै बोल्दैन । पीडित दलित परिवारले उपलब्ध गराएको कागजमा पराजुलीले ९ लाखमा जग्गा हत्याउन खोजेको देखिन्छ ।

र यो पनि : किर्ते कागज बनाएर बिर्तामोडको २८ कठ्ठा जग्गा हत्याउन नेकपा झापाका जिल्ला सदस्यको कर्तुत सार्वजनिक

इजलासमा जग्गा प्रकरणबारे सार्वजनिक भएपछि नेकपा झापाले चासो देखाएको थियो । चासो देखाए पनि कुनै कारवाही प्रक्रिया अघि बढाएको छैन । पार्टीमा कारवाहीका लागि अनौपचारिक छलफल भएपछि पूर्व माओवादी तर्फका नेताहरुले घटनालाई महत्व नदिँदा कारवाही अघि बढ्न नसकेको बताइएको छ । एक नेता भन्छन्, कारवाहीको बारेमा प्रभावकारी रुपमा छलफल नै हुन सकेको छैन । छलफल बारे कुरा गर्दा कुनै पनि नेता चोखो नरहेकोले उनलाई मात्र दोषी देखाएर कारवाही गर्न नसकिने अडान एक पक्षको छ । घटनालाई तोडमोड हुने गरी बहस भएकाले कारवाही नहुने परिस्थिती बनेको बताइएको छ ।

जग्गाधनीले प्रति कठ्ठा ३ लाख ४० हजारका दरले विक्री गरेका थिए । तर, जग्गाधनीसँग एकमुष्ट ४५ लाखमा जग्गाको मुल्य कायम गरेको कागज बनाएर अशिक्षित दलित परिवारबाट जग्गा उम्काउन खोजिएको इजलासलाई प्राप्त कागजबाट खुलेको छ । जग्गा खरिद गर्ने पराजुलीले ९ लाख रुपैयाँ बैना वापत रकम दिएका छन् । बैना ९ लाख दिएको बताए पनि २० लाख वैना दिएको कागजमा लेखिएको छ ।

वैना वापत दिएको ९ लाख मध्येबाट पनि ८० हजार उनीहरुले नै प्रक्रिया अघि बढाउन खर्च मागेको गिरी दासले जानकारी दिएका छन् । कागजमा अब जग्गाको तिर्न बाँकी रकम २५ लाख देखाइएको छ । कागजमा प्रतिकठ्ठा समेत नखुलाई एक मुष्ठ जग्गाको मुल्य ४५ लाख लेखिएको छ ।
स्थानीयले जग्गा हत्याउन चलखेल भएको थाहा पाएपछि जग्गा पास गर्ने प्रक्रिया तत्काललाई रोकिएको छ । पार्टीका कारवाहीको कुरा उठ्दा पराजुलीलाई कमजोरी सच्याउन दिनेसम्मको छलफल भएको बुझिएको छ ।

एउटै जग्गा किनबेचका लागि ४/५ वटा कागज फरक–फरक विवरणमा भेटिएपछि जग्गाधनीले स्थानीयवासीको सहयोगमा वडा कार्यालयमा उजुरी दिएका थिए । वडा कार्यालयले बिर्तामोड नगरपालिकालाई सो मुद्दा पठाएको थियो । नगरपालिकाले मालपोत कार्यलयलाई पत्राचार गरेर जग्गा रोक्का गर्न निर्देशन दिइसकेको विर्तामोड नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]