बैशाख १४, २०८१ शुक्रबार

म स्वतन्त्र नै छु, चुनाव चिन्ह प्राविधिक विषय थियो : हरि राना

प्रदीप परियार –

बिर्तामोड । मंसिर ४ को निर्वाचनमा अनपेक्षित मत आएपछि गठबन्धनका उम्मेदवार हरिकुमार रानाको दिनचर्या घरमै वितिरहेको छ । रानाले निर्वाचनपछि घरमै आराम गरेर बसिरहेको इजलाससित बताएका छन् ।

झापा क्षेत्र नं. २ मा गठन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका राना एमाले परित्याग गरेको भोलीपल्ट माओवादीको चुनाव चिन्हबाट मनोनयन दर्ता गरे । गठबन्धनबाट माओवादीलाई भागमा परेको झापा २ मा धर्मशिला चापागाईको चर्चा थियो । चापागाईको ठाउँमा गठबन्धनले रानालाई उम्मेदवार बनायो ।

धर्मशिलाले उम्मेदवारी नदिने भएपछि माओवादीले एमालेभित्रका असन्तुष्ट नेताहरुलाई टिकट दिने अफर गर्यौ । केहि नेताले अफर स्वीकार गरेनन् । त्यसपछि गठबन्धन रानामा केन्द्रीत भयो । रातारात रानालाई मनाएको गठबन्धनले मनोनयन दर्ता गरेर चुनावी अभियानमा जोडिदिए ।

एमालेबाट झापा क्षेत्र नं. २(२) बाट प्रदेशसभाको उम्मेदवार बन्ने आकांक्षा राखेका रानाले टिकट नपाएपछि रुष्ट थिए । रुष्ट भएकै बेला गठबन्धनले फालेको कार्डबाट राना जोडिए ।

त्यसैबेलाबाट रानाले आफु स्वतन्त्र भएको बताउदै आए । एमालेभित्र अपमान र अवसरको बञ्चितिकरण सहन नसक्ने भन्दै उनले माओवादीको गोलाकारभित्रको हसिया हतौडाबाट निर्वाचन लड्ने निर्णयमा पुगे ।

निर्वाचनमा उनले १३ हजार ९ सय २४ मत प्राप्त गर्दै तेस्रो बन्न पुगे । एमालेका उम्मेदवार देवराज घिमिरे २८ हजार ६ सय ९७ मत सहित निर्वाचित भए भने स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल २६ हजार ४ सय ४१ मतसहित उपविजेता बने ।
एमाले छोडेर स्वन्त्र भएको बताएका उनलाई त्यसै बेला सोधिएको एउटा जिज्ञासा थियो – स्वतन्त्र हो भने माओवादीको चुनाव चिन्हबाट किन उम्मेदवार बन्नु भयो ? जवाफमा उनले भने – ‘प्राविधिक हिसावले चुनाव चिन्ह मात्रै लिएको हुँ । म स्वतन्त्र नै छु । तर, दलको विकल्प स्वतन्त्र होइन । दलको विकल्प दल नै हो ।’

गठबन्धनले चुनावी अंकगणित गरे अनुसार रानालाई सहजै विजयी गराउने थियो । तर, रानाले तेस्रो स्थान मात्रै हात पारे । यसबारे उनले भने, यस्तो परिणाम आउछ भन्ने सोचेकै थिएन । निर्वाचनमा नेता र निर्वाचन कमिटी राम्रोसँग लागेको थियो । मत चाँही नेता र निर्वाचन कमिटीको हातमा नभएको हुँदा अनपेक्षित परिणाम आयो । म छक्क परे ।’

इजलाससित कुराकानीमा रानाले ०६४ माओवादी, ०७४ मा नेकपा र ०७९ मा स्वतन्त्रको हावा चलेको बताए । यो निर्वाचनमा पनि स्वतन्त्रकै हावा चलेका कारण धेरै प्रभावित भयो । यस्तै, तरिकाले दलहरु अघि बढिरहने हो भने ०८४ को निर्वाचनमा स्वन्तत्रले उडाउन सक्छन् । उनी थप्छन्, सबै दलहरुमा व्यापाक करेक्सनको खाँचो छ ।

एमालेबाटै रानाले दुई पटक गाविस अध्यक्ष, एक पटक अर्जुनधाराको मेयर जिते । अर्जुनधारका निवर्तमान मेयर रानाले मंसिर ४ को निर्वाचनको पूर्वसन्ध्यामा आएर एमालेमा खोट देखाए । उनले एमालेले पार्टी बनाउने योद्धाहरुलाई नै अपमान गरेको, शहिदहरुको सम्मान गर्न नसकेको, जबजको मार्गमा हिड्न नसकेको र जीवन नै पार्टीमा समर्पित गरेका व्यक्तिहरुलाई अवसरबाट बञ्चितिकरण गरेको आरोप लगाउदै पार्टीबाट विदा लिए ।

एमालेमा खोटैखोट देखेका रानालाई फेरि एमालेमा फर्किनुहुन्छ भनेर सोधेका छौं, उनले जवाफ दिदैं भनेका छन्– म बृहत कम्युनिष्ट आन्दोलनको मोर्चा बन्नुपर्ने पक्षमा छु । एमाले पूर्ण रुपमा करेक्सन हुनुपर्छ । राजनीतिमा ढोका बन्द हुदैनन् । दलमा आवद्धता हुने मौलिक अधिकारको कुरा हो । चित्त बुझ्यो भने एमालेमा बस्न मलाई ‘च्याप्टर क्लोज’ भएको होइन । तर, म थप्न चहान्छु, एमालेलाई हामी नरहेपछि चल्छ । एमालेलाई हाम्रो के खाँचो होला र ?

एमाले पार्टीमा आफ्नो जीवनको धेरै समय खर्चिएको बताउँदै रानाले आफ्ना सारा दौतरी नै एमालेमा रहेकोले पार्टीको माया भएको सुनाए । मैले जीवन नै एमालेमा व्यतित गरेको छु, माया नहुने कुरै रहेन नि । हिजो एमाले ठिक थियो, आज परिणाम पनि ठिक ल्यायो । गठबन्धन हिजो बेठिक थियो, आज परिणाम पनि बेठिक आएको छ । रानाले थपे, म भोलीको ठिक हुनका लागि दलहरुको सुधारमा जोड दिन चहान्छु ।

रानाले हालै सम्पन्न निर्वाचनमा आएको परिणामलाई सहजै रुपमा लिएको बताए । गठबन्धनमा अवश्य समीक्षा होला, ठोस् कुरा त्यहाँबाट पक्कै आउने नै छ । तर, यो निर्वाचनमा स्वतन्त्रको हावा मज्जैले चलेको थियो । म दलले नै परिणाम हात पार्नुपर्ने पक्षमा थिए । म दललाई नै विश्वास गर्छु, संविधान निर्माण गर्ने दलहरुले कार्यान्वयनमा इमान्दारिता देखाउन आवश्यक छ ।

फेरि कुन पार्टीबाट उम्मेदवार बन्नुहुन्छ भन्ने जिज्ञासामा रानाले भने – प्रेसरले गाल्न नसकेको, सुगरले ढाल्न नसकेको मान्छेको भोलीको बारेमा अहिले के भन्न सक्छु र, भोलीको कुरा केहि भन्न सक्दिन । समयले निर्णय दिदै जानेछ ।
आगामी दिनमा राजनीतिक धु्रविकरणको खतरा रहेको उनको बुझाई छ । अब छिट्टै वामपंथी एकातिर र दक्षिणपंथी अर्कातिर हुने दिन आउने छ । बेलैमा वामपन्थी एकता जरुरी रहेको उनको भनाई छ ।

उमेरले ६५ काटेका राना देशभन्दा ठुलो पार्टी र पार्टीभन्दा ठुलो व्यक्तिमा हावी भइरहेको बताउँछन् । हालै सम्पन्न निर्वाचनमा पनि त्यसको झल्को स्पष्ट आएको बताए । राना भन्छन्, स्वतन्त्रको नाममा नेताहरुनै अल्मिलिएको अवस्था थियो । गरिवी, विपन्नता, अशिक्षा नै मुल शत्रु रहेको भन्दै रानाले आफुलाई अहिले कुनै पनि राजनीतिक दलसँग जोडेर हेर्न नमिल्ने बताए । म स्वतन्त्र छु, निर्वाचनमा चुनाव चिन्ह प्रयोगको कुरा प्राविधिक विषय थियो ।

प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]