बैशाख १७, २०८१ सोमबार

सन्थाल अफिसर

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय प्रमुखका रुपमा नारायण टुडु कार्यरत छन् । उनी चार वर्षदेखि बिर्तामोड शाखामा कार्यरत छन् ।

सन्थाल समुदायबाट सरकारी सेवामा प्रवेश गर्नेहरु विरलै पाइन्छन् । टुडु त्यसैमध्येका एक पात्र हुन् । जो २०५२ साल देखि सरकारी सेवामा छन् । ०४८ देखि कृषि कम्पनीमा ज्यालादारीमा काम शुरु गरेका थिए । पछि लोकसेवा आयोगबाट खरदारमा नाम निकाल्न सफल भएका टुडु अहिले सुब्बा भएका छन् ।

विपन्न किसान परिवारका उनी शुरुआतमा छाला उधोगमा कार्यरत थिए । छाला उधोगमा हिसाव राख्ने काम गर्ने गरेको उनी सुनाउछन् । सरकारी जागिर मैले सोचेको थिइन्, उनले थपे – ज्यालादारीबाट प्रवेश गरेपछि लोकसेवा दिन मन लाग्यो । व्यवस्थापन शंकायमा स्नातक तहसम्म अध्ययन पुरा गरेका उनी सरकारी जीवनबाट अवकास लिने तयारीमा पुगिसेकेका छन् । ०८० माघ ५ गते उनको अनिवार्य अवकास हुदैछ ।

मोरङ जहदा गाउँपालिका वडा नं. २ घर भएका टुडुका बुबाआमा कृषि पेशामा थिए । त्यो बेला सन्थाल समुदायका लागि सरकारी सेवा प्रवेश गर्नु ‘नसोकेको’ विषय थियो । उनका अनुसार नेपालमा सरकारी सेवा प्रवेश गर्ने दोस्रो व्यक्ति हुन् । सन्थाल समुदायमा पहिलो सरकारी जागिरेका रुपमा बासुदेव मर्डीलाई चिनिन्छ । उनी गाविस सचिव थिए । त्यसपछि नारायण टुडुले लोकसेवा पास गरेको उनको भनाई छ ।

०६४ देखि सुब्बा भएका टुडु सरकारी सेवामा विराटनगर, तौलिहवा, भैरहवा, तेह्रथुम, धनकुटा, जनकपुर र बिर्तामोड बसेका छन् । जागिरे जीवनमा कहिल्यै विभेदमा नपरेको उनको अनुभव छ । सरकारी सेवामा प्रवेश गर्ने सोच थिएन, उनले भने – कतै निजी क्षेत्रमा रहेर काम गर्छु भन्ने थियो । तर, मेहनत गर्दा सफल भए ।

सन्थाल समुदायको गरिवीका बारेमा आफुलाई राम्रो अनुभव भएको सुनाए । म पनि गरिव परिवार मै हुर्केको हुँ, उनी थप्छन्, हाम्रो समुदाय असाध्यै स्वतन्त्रता चहान्छ । जसका कारण सरकारी सेवामा अत्यन्तै न्यून संख्यामा सेवा प्रवेश गरेको पाइन्छ । एकैठाउँ बसेर काम गर्न नै चहादैनन्, मजदुरी होस् वा जे होस् । चारतिर डुलेर काम गर्ने आदत पाएको छु । कोहि बन्धनमा बस्न रुचाउदैनन् ।

घुमफिर धेरै गर्ने मेला पर्वहरु नछुटाउने कारण आर्थिक जीवनमा सुधार ल्याउने सोच बनाएको पाउदिन । अशिक्षा, गरिवी, चेतनाको कुरा त छदैछ । प्रमुख टुडु भन्छन्, – शिक्षामा धेरैको पहुँच बढ्दैछ । तर, पढेर लोकसेवा लिनुपर्छ, सरकारी जागिर खानुपर्छ भन्ने सोच बनेको देख्दिन ।

सेवामा २५ वर्ष पुरा गरेपछि उनले दीर्घसेवा पदक पाएको सुनाए । सेवामा रहँदा आफ्नो क्षमता प्रदर्शन गरेरै काम गरिहरेको उनको बुझाई छ । कसैले पनि समुदायिक हिसावले हेरेको छैन, सबैलाई राम्रोसँग सेवा प्रदान गर्दै आएको छु, उनले भने ।

प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार  ६ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]