बैशाख १७, २०८१ सोमबार

कमलका आरोपित वडाध्यक्षसहित तीनजना धरौटीमा छुटे

बिर्तामोड । झापा कमल गाउँपालिका–६ का अनिल कार्कीको मृत्यु प्रकरणमा पक्राउ परेका सो वडाका वडाध्यक्ष नरेन्द्र भट्टराईसहित तीन जना धरौटीमा रिहा भएका छन् ।

आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी परेपछि पक्राउ परेका वडाध्यक्ष भट्टराई ८० हजार तथा मृतक कार्कीकी पत्नी चाहना पोखरेल र ससुरा पुण्यप्रसाद पोखरेल जनही डेढ लाख रुपैयाँका दरले धरौटी राखेर रिहा भएका हुन् ।
झापा जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको इजलासमा बुधबार भएको थुनछेक बहसपछि सो आदेश भएको झापा जिल्ला अदालतका स्रेस्तेदार किरण सिंहले जानकारी दिए । अदालतले तोकेको धरौटी बुधबार नै सम्बन्धित व्यक्तिहरूबाट दाखिला भएको उनले बताए । धरौटी बुझाएसँगै उनीहरू रिहा भएको इलाका प्रहरी कार्यालय दमकले बताएको छ ।

कमल ६ स्थायी घर भई जिल्ला वन कार्यालय पाँचथरमा कार्यरत कार्की गएको दसैँ बिदामा घर आएको समयमा महानवमीको दिन पारिवारिक विवाद हुँदा वडाध्यक्ष भट्टराई , कार्कीकी पत्नी चाहना र ससुरा पुण्यप्रसाद पोखरेलले कुटपिट गरेको र सोही कारण उनले दसैँको अन्तिम दिन आत्महत्या गरेको आरोप लागेको हो । कार्कीका बहिनी, मामालगायत उनका शुभचिन्तकहरूले कार्कीले न्याय नपाई मर्नु परेको भन्दै न्यायको मागसहित दमकमा उनको शवसहित प्रदर्शन गरेका थिए भने इलाका प्रहरी कार्यालय दमकमा उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए ।
प्रहरीले वडाध्यक्ष भट्टराईसहित घटनामा जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि मात्रै कार्कीको शव बुझेका थिए ।

प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]